images

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ३० महिनाभित्र सक्ने गरी सम्झौता

काठमाडौं– ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।

भरतपुर महानगरपालिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रङ्गशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ ।

निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार रङ्गशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३÷३ तलाको टावर बनाउनुपर्ने छ । महानगरपालिकाका वरिष्ठ इन्जिनियर उपनिर्देशक सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्यारा फिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका काम सम्झौता भएको कम्पनीले गर्नेछ ।

सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मुस–सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । ती काम सक्न निर्माणको लागत भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ ।