images

मृत्युदण्ड सजाय पाएका धनुषाका रामाशिषलाई बचाउन ब्लडमनि हस्तान्तरण

भैरहवा–रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्मा र धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने रामआशिष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्थे । एउटै कम्पनीमा हुँदा दुवै जनाको कोठा पनि एउटै थियो । खाने रमाउने एउटै थलो थियो । त्यसै क्रममा सन् २०१८ सालमा कोठामै रमाइरहेकै अवस्थामा धनुषाका रामाशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरी हत्या गरे ।

साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै रामआशिष यादवलाई तत्कालको लागि पाँच वर्षको कैद सजायको फैसला ग¥यो । पाँच वर्षपछि दुवै जनाको परिवारको बीचमा ‘ब्लडमनि’ मा सम्झौता भए ठिक अन्यथा अन्तिम विकल्प रामआशिषलाई मृत्युदण्ड (फाँसी) को सजाय हुने अदालतको फैसला थियो ।

साउदीमा रामआशिषले मानिसको हत्या गरेको र जेलमा रहेको कुरा थाहा पाएपछि जनकपुरमा रहेकी उनकी पत्नी रेनो कुमारीमाथि बज्रपात भयो । कमजोर आर्थिक अवस्थाकी रेनो जेनतेन आफ्नो तीन छोरीहरूसहित आफ्नो गुजारा गर्दै आइरहेकी थिइन् । उनको आर्थिक अवस्था कति दयनीय थियो भने, पैसाकै अभावमा उनी आफ्ना तीन वटै छोरीहरूलाई विद्यालय समेत पठाउन सकेकी छैनन् ।

अदालतले ब्लडमनि तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखाएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हुँदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसमा तदारुकता देखाए । रेनो कुमारीका मामा प्रभु यादव पनि भान्जा ज्वाइँ रामआशिषलाई माफीको आशासहित रुपन्देही आएका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र रेनोका मामा प्रभु मृतक दुर्गा प्रसाद शर्माको श्रीमती सीता शर्मासित माफीको अपेक्षासहित पुगे । ‘सुरुमा उहाँ मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो ।’ प्रजिअ अर्यालले भने ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह ग¥यौ, मैले व्यक्तिगत रूपमै आँसु चुहाएरै आग्रह गरे ।’

पीडित शर्मा परिवार ‘ब्लडमनि’ मा सम्झौता नगर्ने अडानमा थिए । केही जनप्रतिनिधि, व्यवसायी र प्रमुख जिल्ला अधिकारीलगायतको पहलपछि पीडित परिवार ५० लाखको ‘ब्लडमनि’ मा सम्झौता गर्न सहमत भए ।

जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । ‘५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किए ।’ रेनो कुमारीको मामा प्रभुले भने, ‘हामीले भान्जा ज्वाइँ रामआशिष फर्किने सम्भावना छोडेका थियौंँ ।’

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने पैसाकै अभावमा कसैलाई मर्न दिनुहुँदैन भन्ने पक्षमा थिए । उनले रकम जुटाउन पहल सुरु गरे । यसको लागि ‘बास्केट फन्ड’ बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र २ जना सहायक प्रजिअले २५ हजार तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाँका दरले जम्मा गरे । उता जिल्लाका ३० जना उद्योगी–व्यवसायी समेत गरी ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।

रामआशिष यादवकी श्रीमती रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन । सबै मिलाई ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माको श्रीमती सीता शर्मालाई हस्तान्तरण गरी रुपन्देहीले एउटा उदाहरण कायम गरेको छ । ब्लडमनी वापतको रकम बुझ्दै गर्दा सीताको आँसु थामिएको थिएन ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने, ‘एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्युदण्डको सजाय नै दिनुहुँदैन भन्ने हाम्रो मान्यता थियो । दुई वटा घरलाई बचाउनका लागि यो प्रयास गरेका हौँ ।’ यो ५ वर्षमा रामआशिषले आफूले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आर्थिक अवस्था राम्रो नभएका बेला पनि निजी क्षेत्रका प्रतिनिधिले सामाजिक दायित्व सम्झिएर रकम जुटाएको बताए । अहिले पीडितलाई आर्थिक रूपमा राहत मिलेको र यादवले जीवनदान पाउने अवस्था बनेको भन्दै उनले खुसी व्यक्त गरे ।

आफूले आशा मारिसकेको अवस्थामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० र यहाँका व्यवसायी आफ्नो लागि भगवान् भएर आएको रामआशिषकी पत्नी रेनो कुमारीले बताइन् । ‘मेरो लागि यहाँका सिडियोसाब भगवान् हो, म उहाँको फोटो लगेर भगवान् राख्ने ठाउँमा राख्छु । रेनोले रुँदै भनिन्, ‘मलाई मेरो घर खेत चाहिएन मलाई मेरो घरवाला चाहिन्छ ।’

रेनो कुमारीका मामा प्रभु यादवले राम आशिष् फर्किने आस मारिसकेको अवस्थामा जीवनदान पाउने विश्वास पलाएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा निजी क्षेत्रको प्रयासमा र सीता शर्माको उदार हृदयका कारण पाँच वर्ष सजाय काटेका रामआशिष यादव घर फर्किने वातावरण बनेको छ । सम्झौता गरेको कागज कन्सुलर विभाग हुँदै साउदी पठाइने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

रुपन्देहीका प्रशासक र व्यवसायीले उदाहरणीय काम गरेका छन् । जुन लामो समयसम्म सम्झनामा रहिरहनेछ । संसारमा अहिले पनि मानवता हराएको छैन भन्ने यो घटनाले पुष्टि गर्छ ।