images

निर्मला पन्तको अनुसन्धान अन्तिम चरणमा पुगेको छः लामिछाने

काठमाडौं– काम चलाऊ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने सरकारलाई आग्रह गरेका छन् ।

आइतबार बिदाइ कार्यक्रम राखेका लामिछानेले रास्वपाले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने पनि बताए । गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू समेत उपस्थित कार्यक्रममा लामिछानेले ठुला दलहरू मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे । भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे ।

लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे । उनले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको दाबी पनि गरे । गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने भन्दै उनले सुन प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए । उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको भन्दै उनले सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी पनि गरे ।

जीवी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुरा भएको उनको भनाइ छ । उनले कयौँ विषयहरू भागबन्डामा टुङ्गिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबन्डाबाट निकाल्नुपर्नेमा जोड दिए ।