images

गृह मन्त्रालयबाट बाहिरिए रवि , प्रशंसाभन्दा विवाद धेरै !

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन् । गत पुस २१ गते एमाले र माओवादी गठबन्धनमा दोस्रो पटक गृहमन्त्री बनेका थिए ।

मन्त्रालयको नेतृत्व सम्हालेको ४ महिनापछि लामिछानेको मन्त्री पद गुमेको छ । पद गुमेसँगै उनी सिंहदरबारबाट बाहिरिएका छन् ।

बाहिरिने क्रममा लामिछानेले केही नयाँ गर्न खोजेको दाबी गरेका छन् । तर, उनको दोस्रो कार्यकाल पनि विवादरहित हुन सकेन । पहिलो कार्यकालमा आफ्नै कारण मन्त्रीदेखि सांसद पदसम्म गुमाएका लामिछाने दोस्रो कार्यकालमा भने सत्ता बहिर्गमनमा परेका छन् ।

नयाँ अनुहार, नयाँ दल, नयाँ विचार । यस्तै नयाँ कुराका साथ रवि लामिछाने राजनीतिमा होमिएका थिए । केही गर्ने हुटहुटी बोकेर हिँडेका लामिछानेलाई जनताले राम्रै साथ दिएका हुन् । राजनीतिमा होमिँदै जाँदा लामिछानेले अधिकांश पुरानै शैली देखाए । केही नयाँ शैली पनि प्रदर्शन गरे । उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा पुगेकाहरूले अरूभन्दा केही नयाँ शैली पनि देखाए । तर, लामिछानेका लागि यो कार्यकाल त्यति सुखद रहन सकेन । पहिलो कार्यकाल विवादै विवादमा तानिएका लामिछाने दोस्रो कार्यकाल पनि विवादरहित हुन सकेन ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल भएपछि आशा, अपेक्षा स्वाभाविक नै थिए । सरकारमा सहभागी रास्वपाले रोजेर मन्त्रालयको नेतृत्व गर्न पाउनेमा दुबिधा थिएन । तर, विकासे मन्त्रालय रास्वपाको रोजाइमा परेनन् । सभापति रवि लामिछानेले दुवै कार्यकालमा गृह मन्त्रालयको नेतृत्व गरेर सरकारमा सहभागिता जनाए । पहिलो कार्यकाल विवादै, विवादले सकियो । दोस्रो कार्यकाल पनि विवादरहित हुन सकेन । उनी मन्त्रालयको नेतृत्वमा सामेल हुनु पूर्व नै सहकारी प्रकरण बाहिरिइसकेको थियो । सहकर्मी जीवी राई यही प्रकरणमा फरार रहेका थिए । उनले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै राई जहाँ भए पनि खोजेर ल्याउने प्रतिबद्धता पनि गरे । तर, परिणाम आउन सकेन ।

लामिछानेले जोडतोडका साथ उठाएको अर्को विषय हो, निर्मला पन्त हत्या प्रकरण । उनी टेलिभिजनमा हुँदा नै यो प्रकरणमा लागिपरेका थिए । यो हत्या प्रकरणको सत्य, तथ्य बाहिर ल्याउने र संलग्न जोकोहीलाई कानुनी कठघरामा उभ्याउने उनको दाबी थियो । हुन पनि उनी मन्त्रालयमा आइसकेपछि यो प्रकरणमा केही नभएको भने होइन । शक्ति र पहुँचका आधारमा घटनालाई तोडमोड गर्ने प्रपञ्च भइरहेका बेला लामिछानेले पीडित परिवारलाई केही ढाडस पक्कै दिएका थिए । गृह मन्त्रालयमा बहाल भएपछि उनको निर्देशन लगत्तै प्रहरी नायब महानिरीक्षक ९डिआइजी० दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भएको थियो । यो समितिले कञ्चनपुरमा पुगेर केही सोधपुछबाहेक अरू गर्न सकेन । यो प्रकरण त्यतिकै सेलायो ।

लामिछानेको नेतृत्वमा केही सम्झिन लायक काम पनि भएका छन् । उनी नेतृत्वमा रहेका बेला बाँसबारी जग्गा प्रकरण पर्दामा आयो । यसमा संलग्न केही व्यक्तिहरू बयानमा तानिए । अवैध सुन तस्करीमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरादेखि शरणार्थी प्रकरणमा फरार पूर्व गृहमन्त्री रामबहादुर थापा पुत्रदेखि बेचन झासम्म पक्राउ परे । लामिछानेको देखिने र सुनिने उपलब्धिमा यिनै विषय समावेश भए । अन्य विषयमा लामिछानेले खासै उपलब्धिपूर्ण काम गर्न सकेनन् ।