images

चुनौतीका चाङबीच सरकारको बागडोर सम्हाल्दै ओली !

काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीको रूपमा मुलुकको बागडोर सम्हाल्दै छन् । संसद्को दोस्रो ठुलो दल एमालेका संसदीय दलका नेता ओली पहिलो ठुलो दल कांग्रेसको समर्थनमा सत्ताको नेतृत्वमा पुगेका हुन ।

प्रधानमन्त्री बन्न ओलीको पक्षमा भारी बहुमत देखिए पनि उनको आगामी बाटो भने त्यति सहज छैन । कांग्रेससँग शक्ति सन्तुलनका साथै साना दललाई पनि विश्वासमा लिएर संविधान संशोधनसम्मको कार्यभार पूरा गर्न ओलीलाई त्यति सहज छैन ।

दुई फरक राजनीतिक विचारधारा बोकेका संसद्को पहिलो ठुलो दल कांग्रेस र दोस्रो ठुलो दल एमालेले सत्ता साझेदारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक मुलुकको बागडोर सम्हाल्ने भएका छन् ।

संविधान संशोधनसहितको एजेन्डामा कांग्रेससँग सहमति गरेर सत्ताको नेतृत्वमा पुगेका ओली जति सहज रूपमा प्रधानमन्त्री नियुक्त भए उनको आगामी यात्रा भने त्यति सहज छैन ।

पहिलो ठुलो दल कांग्रेससँग शक्ति सन्तुलन गर्दै साना दललाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने ओली सामु चुनौती विश्लेषक प्रा।डा गोविन्द मानसिंह कार्कीको भनाइ छ । सरकार चलाउन दुही दलसँग बहुमत भए पनि संविधान संशोधनका लागि आरु दललाई पनि विश्वासमा लिनुपर्ने बाध्यता ओलीसँग छ ।

कांग्रेस–एमालेको चाहनाले मात्रै संविधान संशोधन हुने सम्भावना छैन । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका कांग्रेस–एमालेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदबाटै चुनौती दिइसकेका छन् । त्यसमाथि संविधान संशोधनमा दलैपिच्चेका एजेन्डामा सहमति जुटाउन त्यति सहज छैन ।

अर्कोतर्फ ठुला भ्रष्टाचारका फाइल खोलेपछि कांग्रेस–एमाले एक ठाउँमा उभिएको आरोप लागेको छ । भुटानी शरणार्थी प्रकरणदेखि गिरीबन्धु टी-स्टेट प्रकरणसम्म आफूमाथि लागेको आरोप चिर्दै यी मुद्दालाई निष्कर्षमा पु¥याउनु ओलीको अर्को चुनौती हुने छ । साथै केन्द्रदेखि प्रदेशसम्म र राजनीतिक नियुक्तिमा सन्तुलन कायम गर्दै सबै दललाई विश्वासमा राख्नुपर्ने चुनौती पनि ओलीसामु छ । साथै आफै सहभागी सरकारले ल्याएको बजेट कार्यान्वयन ओलीको अर्को चुनौती रहेको कार्कीको तर्क छ ।

उसो त ओलीमाथि पार्टीभित्रको विवाद मिलान नसक्दा संसद् नै विघटन गरेको आरोप पनि छ । उनले संसद् विघटनको औचित्य अझै पुष्टि गर्न सकेका छैनन् । आगामी दिनमा पनि ओली पूर्वसहमतमा कायम रहनेमा पनि आशङ्का व्यक्त गरिएको छ ।

एउटै पार्टी नेकपा हुँदा पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग सहकार्य गर्न नसकेको आरोप लागेका ओलीले विपरीत ध्रुवको कांग्रेसलाई कसरी सन्तुलनमा राख्न सक्लान् भन्ने प्रश्न पनि उब्जिएको छ । तथापि दुई तिहाइको समर्थन पाउने सम्भावना देखिएका बेला ओलीलाई राजनेता बन्ने अवसर पनि छ । आफूमाथि लागेका आरोप चिर्दै सबै दललाई सन्तुलनमा राखेर नागरिक र सुशासनको पक्षमा काम गर्न सके ओली मात्र होइन यो गठबन्धनबाट उनको पार्टी एमालेले पनि ठुलो फाइदा लिन सक्छ ।