images

सेयर बजार अर्थतन्त्रको ऐना हो,सन्तुलित रूपमा अगाडि बढाउँछौंः अर्थमन्त्री पौडेल

काठमाडौं– नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् ।

सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलित रूपमा अगाडि बढाउने बताएका छन् ।

उनले शेयर बजारलाई विगतमा जुवाघर लगायत अन्य टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रूपमा अगाडि बढाउने बताए ।

उनले अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू रहेको भन्दै समस्या समाधानको लागि सबैसँग सहकार्य गरेर समस्या समाधान गरिने बताए । उनले अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रूपमा अघि बढ्ने बताए ।

उनले सरकारको सोच र कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि कुनै पनि बजेट बाधक नबन्ने बताए । उनले बजेट कार्यान्वयनका सिलसिलामा केही समस्या महसुस भए सरकार संवैधानिक र कानुनी प्रबन्ध अनुसार अघि बढ्ने बताए ।

उनले भने,‘शेयर बजारलाई अर्थतन्त्रको ऐनको रूपमा लिने गर्छौँ । कतिपय समयमा के टिप्पणी हुने भयो भने जुवाघर लगायतका टिप्पणी भए । त्यसले अस्थिरता पनि पैदा गरेको थियो । यथार्थमा शेयर बजारलाई हामीले अर्थतन्त्रको ऐनका रूपमा हेर्ने गरेका छौँ । पछिल्लो दिनमा पुँजी बजारमा जुन खालको उत्साह देखिरहेका छौँ । त्यसलाई सन्तुलित ढङ्गले अगाडि बढ्ने परिस्थिति होस भन्ने कुरामा मन्त्रालयको ध्यान जान्छ ।

बजेट सरकारको सोच र कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि कुनै पनि बजेट बाधक बन्दैन । बजेट कार्यान्वयनका सिलसिलामा केही समस्या महसुस भयो भने अगाडि बढ्नको लागि संवैधानिक र कानुनी प्रबन्धहरू छन् । त्यही अनुसार अगाडि जान सक्छौँ । त्यस कारण सरकारको सोच,दृष्टिकोण र कार्यक्रमहरू कार्यान्वयनको लागि बजेट बाधक बन्दैन । त्यही अनुसार सरकार अगाडि बढ्छ ।’

उनले विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने विषयमा पहिलो निर्णय गरेका छन् । विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए उनले त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उल्लेख गरे । विकासका लागि आवश्यक स्रोतका विकल्पहरूको अध्ययन गरेर अघि बढ्ने उनको भनाइ छ ।