images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले ६ गते विश्वासको मत लिने

काठमाडौं– बागमतीका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वास मत लिन प्रदेश संसद् सचिवालयमा पत्र पठाएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने तयारीमा प्रदेश सभा सचिवालयको रहेको छ । नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले असार २४ गते सामूहिक राजीनामा दिएपछि जम्कट्टेल जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेका थिए ।

एमाले सरकारबाट बाहिरिए पछि जम्कट्टेलको मन्त्रिमण्डलमाहाल नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् । केन्द्रीय सरकार गठनको अवस्था हेरेर राजीनामा वा विश्वासको मत रोज्ने बताउँदै आएका उनले प्रदेश सभाको फेस गर्ने भएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको सत्ता यात्रा

मुख्यमन्त्री जम्कट्टेल २०७४ सालको प्रदेशको निर्वाचनपछिका अधिकांश समय सत्ताको केन्द्रमा रहँदै आए । प्रदेश सरकार गठनदेखि हालसम्म ६ वर्ष उनी सत्तामा रहे । २०७४ सालमा २३ प्रदेश सभा सदस्य हुँदा पनि सरकार निर्माण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०७९ सालको निर्वाचनबाट २१ प्रदेश सभा सदस्यमा झर्दा समेत उत्तिकै सशक्त रहे । प्रदेशको २ कार्यकालको संसदमा १० महिना मात्र माओवादी केन्द्र प्रतिपक्षमा रहेको छ ।

१० महिनाको प्रतिपक्ष भूमिका बाहेक अधिकांश समय उनी सरकारको नेतृत्व र मन्त्रीको भूमिकामा छन् ।बहालवाला मन्त्री भइरहेका बखत २०७९ को निर्वाचनपछि गठन भएको प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । उनले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे सङ्घीय संसदमा निर्वाचित भएपछि २०७९ पुस २५ मा एमाले, राप्रपा र माओवादी केन्द्रको गठबन्धनबाट
उनी मुख्यमन्त्री बनेका थिए ।

प्रदेश सरकार गठन हुँदा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट सत्ता यात्रा सुरु गरेका जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री हुँदै मुख्यमन्त्रीसम्मको जिम्मेवारीमा रहेर काम गरे । १७ महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका उनले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री वर्ष र आर्थिक मामिला तथा योजना मन्त्री १४ महिना रहे ।

माओवादी प्रतिपक्षी भूमिकामा

६ वर्षदेखि सत्तामा रहेको माओवादी केन्द्र साउन ६ पछि प्रतिपक्षको भूमिकामा रहने निश्चित छ । केन्द्रीय तहमा सत्ता परिवर्तनसँगै माओवादी केन्द्र प्रतिपक्षमा रहेको अवस्थामा बागमतीमा समेत उ प्रतिपक्षमा पुग्ने निश्चित भएको हो ।
जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि सरकार टिकाउन आगामी साउन २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकोले उनले साउन ६ गते विश्वासको मत लिँदै छन् । तर प्रदेशको अङ्क गणित अनुसार उनको पक्षमा बहुमत नपुग्ने परिस्थिति छ ।
०७९ माघ ३ गते, चैत १० मा २०८० चैत १९ गते गरी ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेल यस पटक केन्द्रीय सत्ता समीकरणका कारण सङ्कट छन् । चैत १९ गते विश्वासको मत लिँदा उनले ५६ सांसदको मात्रै समर्थन पाएका थिए ।

प्रदेश सभाको अङ्कगणित

अनुसार ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ । मुख्यमन्त्री जम्कट्टेललाई हाल २९ सांसदको समर्थन छ । उनले विश्वासको मत प्राप्त गर्न थप २७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा पहिलो र दोस्रो दल रहेको काँग्रेस९एमालेको गठबन्धन रहेकोले सरकारमा रहिरहन सङ्ख्या जुटाउन असम्भव छ ।
बागमती प्रदेश सभाको अङ्कगणित ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभाको ठुलो दल काँग्रेसको ३७ र दोस्रो ठुलो दल एमालेको २७ सांसद छन् । माओवादी केन्द्रको २१ सांसद रहँदा, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

राप्रपा र नेमकिपाको समर्थन रहँदा समेत उनको पक्षमा ४५ सांसद रहने छ । यद्यपि यी दुई दलले समेत उनलाई समर्थन गर्ने देखिँदैन । राप्रपाले केन्द्रमा समेत माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएन । यसको असर प्रदेशमा समेत देखिनेछ । नेमकिपाले हालसम्म कुनै पनि सरकारलाई समर्थन गरेको छैन। यो पटक समेत विश्वासको मत जम्कट्टेललाई दिने देखिदैन् ।
उ बरु तटस्थ बस्न सक्छ ।