images

रुपन्देहीमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा १०७ जनाको मृत्यु

भैरहवा–रुपन्देहीमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १०७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष (आ.व.० २०८०/०८१ मा ९२०८० साउनदेखि २०८१ असारसम्म) को अवधिमा उक्त मानवीय क्षति भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक(एसपी) श्याम बहादुर खत्रीले एक वर्षको अवधिमा रुपन्देहीमा २५० वटा सवारी दुर्घटना भएको जानकारी दिए । उनका अनुसार आ.व. २०७९/०८० मा सवारी दुर्घटनामा परी १०९ जनाको मृत्यु भएको थियो।

आ.व.२०८०/०८१ मा २५० वटा सवारी दुर्घटना भएका छन् भने आ.व.२०७९/०८० मा २२२ वटा सवारी दुर्घटना भएका थिए । यो तथ्याङ्क अनुसार जिल्लामा गत वर्षको आर्थिक वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना बढेको छ ।

त्यस्तै एक वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी १९३ जना गम्भीर घाइते र १३५ जना सामान्य घाइते भएका छन् । आ.व. २०७९/०८० मा सवारी दुर्घटनामा परी १८० जना गम्भीर घाइते र ९० जना सामान्य घाइते भएका थिए ।

त्यसै गरी आ.व.०८०/०८१ मा सवारी दुर्घटनामा परी ८ वटा पशु चौपायाको मृत्यु भएको छ भने २ वटा चौपाया घाइते भएका छन् । एसपी खत्रीका अनुसार आ.व. २०७९/०८० मा सवारी दुर्घटनामा परी ४ वटा पशु चौपायाको मृत्यु भएको थियो ।

त्यस्तै एक वर्षको अवधिमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी ५ सय जनाको मृत्यु भएको उनले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्टले बताए ।

लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घका महासचिव रुमाखर गौतमले सवारी दुर्घटना हुँदा ठुलो धनजनको क्षति हुँदै आएको बताए । उनले भने, ‘सडकको अवस्थाका कारण पनि दुर्घटना भइरहेको छ ।’