images

संविधान संशोधनको विषयले तराई–मधेश तरङ्गित

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ सत्तासमिरकणका साथै संविधान संशोधनको चर्चाले तराई–मधेस तरङ्गित बनेको छ ।

संसद्का दुई ठुला राजनीतिक दलको गठबन्धनलाई मधेश केन्द्रित दलहरू जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरूले समर्थन गरेको देखिए पनि त्यसबाहेकका मधेस केन्द्रित अन्य दलहरू मोर्चा बन्दी गर्न थालेका हुन् ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, माओवादीका नेताहरू सम्मिलित मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेकपा एकीकृत समाजवादी र नेपाल सद्भावना पार्टीले ठुला दलको विरोधमा ‘संयुक्त मधेस सङ्घर्ष समिति’ गठन गर्दै विभिन्न कार्यक्रमको घोषणा समेत गरेका छन् । संविधान सभा सदस्य तथा नेकपा एसका नेता शीतल झाको नेतृत्वमा गठन गरिएको मोर्चामा अन्य दलहरूलाई पनि बिस्तारै ल्याउने तयारी छ ।

नवगठित संयुक्त मधेस सङ्घर्ष समितिले सबै पहिचानवादी संघीयतावादीलाई गोलबन्द हुन अपिल गर्दै आगामी साउन २६ गते जनकपुरधाममा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।