images

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रोकियो

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको छ ।

कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामाले सोमबार बिहान १० बजे नै प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी भए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा ढिलाइ भएको हो ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

कांग्रेस नेताहरुले सोमबार नै मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बताए पनि सत्ता गठबन्धनको प्रमुख घटक एमालेका दल नेता जगन्नाथ थपलिया आकस्मिक रुपमा काठमाडौं हिँडेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रक्रिया रोकिएको छ । बाग्मतीमा एमालेले ७ वटा मन्त्रालय मागेकोमा कांग्रेस ६ वटा मात्र दिन तयार भएको छ ।