images

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजको अवस्था के थियो त ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना देश नै शोकमा डुबेको छ । अनुकुल मौसम र कन्ट्रोल टावरसँग सामान्य संवादकै बीच २१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको विमान उडान भरेको केही सेकेन्डमै दुर्घटनामा भयो । दुर्घटनाग्रस्त जहाजको अवस्था के थियो त ?

नेपाली वायु क्षेत्रमा पुनः दुःखद घटना भयो । बुधवार मर्मतका लागि पोखरा लैजान लागिएको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे–७ कल साइनको विमान उडान भरेको केही सेकेन्ड मै धावनमार्ग नजिकै बजारियो ।

जहाजमा सवार चालक दलसहितका १९ जना मध्ये १८ जनाको घटना स्थलमै मृत्यु भयो भने क्याप्टेन मनिष शाक्यको जीवीतै उद्धार गरियो । अनुकुल मौसम र कन्ट्रोल टावरसँग सामान्य संवादकै बीच विमान अचानक दुर्घटनाग्रस्त भएर भौतिक तथा मानविय क्षति हुदाँ हवाइ यात्राको सुरक्षा माथि पुनः शंका उब्जिएको छ ।

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष ४ महिना उडिसकेको विमान हो । बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो । सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा यो विमान खरिद गरेको थियो । एट्लान्टिकले १ वर्ष उडाएपछि विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो ।

जुन २००७ अर्थात् ३ वर्षसम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किनेको थियो । एरिकपछि विमान २००८ अप्रिल मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो । करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो । २१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल लैजाने क्रममा दुर्घटना भएको हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज पूरै परीक्षण र मर्मत गर्नुपर्ने अवस्थामा रहेको खुलेको छ । ह्याङ्गर भाडामा लिएकाले त्यहीँ राखेर मर्मत गर्ने तयारीसहित विमान पोखरा लगिदैं थियो । काठमाडौंको आकाश छुन नपाउँदै विमानले सन्तुलन गुमायो र दुर्घटनाग्रस्त भयो । विमान बिग्रिएपछि पोखराको ह्यांगरमा राखेर मर्मत गर्नका लागि एयरलाइन्सले नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिएको पाइएको छ । जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।