images

शिक्षामन्त्रीले मागिन् गृहमन्त्रीसँग त्रिविका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा

 

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छन् ।

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूलाई आक्रमणको प्रयास र प्राध्यापकहरूलाई धम्की आइरहेको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्री रमेश लेखकसँग सामाजिक सञ्जाल मार्फत विश्वविद्यालयमा सुरक्षाको माग गरेकी हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि आक्रमण गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’ उनले लेखेकी छन् ।

केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको भन्दै असुरक्षाका कारण उपकुलपति केसर जङ्ग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल लामो समयदेखि बिदामा बसेका छन् ।

गएको शुक्रवार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो । मानविकी तथा सामाजिक शास्त्र सङ्कायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखको नाम सिफारिस गरेपछि असन्तुष्ट विद्यार्थी समूहले अवरोध गरेकाले नियुक्तिको निर्णय हुन सकेको छैन ।