काठमाडौं । नेपालले पेनाल्टी सुट आउटमा भुटानमाथि ४–१ को जित निकाल्दै आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।
गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले सेमिफाइनलमा भुटानमाथि पेनाल्टी सुटआउटमार्फत जित रच्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि सीधै पेनाल्टी सुट आउटतर्फ धकेलियो । उक्त पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियारथ नायक बने । यस क्रममा उनले दुई प्रहार रोक्दै आफैँले पनि गोल गरे । पेनाल्टी सुट आउटमा नेपालका राम थापा, अविनाश स्याङतान, सीमान्त थापा र जियारथले गोल गरे । भुटानको तर्पmबाट पहिलो प्रहारमा जित्सुइन दोर्जीले गोल गरे ।
त्यसपछि जियारथ नायक बने र जिग्मे नामगेलको प्रहार रोक्दै भुटानमाथि दबाब बनाए । उगेन दोर्जीको प्रहार पनि जियारथले रोके र नेपाल फाइनलनजिक पुग्यो । यसपछि जियारथ नै पेनाल्टी प्रहार गर्न आए । यसमा सफलताले नेपाल एक प्रहारअगाडि नै फाइनल पुग्थ्यो, जहाँ जियारथ सफल पनि भए । त्यसअघि निर्धारित समयको खेलमा पछि परे पनि नेपालले पुनरागमन गरेको हो । खेलको पहिलो हाफमा बराबरीमै सकियो । दोस्रो हाफमा भुटानले गोल गर्दै घरेलु टोली ठुलो झड्का दियो । तर, नेपाल पुनरागमनसँगै जित पनि निकाल्न सफल भयो ।
खेलमा सुरुवाती चुनौती भुटानबाट भयो । डिफेन्डर अश्विन घोरासैनीले चौथो मिनेटमा क्लियर गर्ने क्रममा बल फुस्काएपछि घरेलु टोलीले चुनौती सामना गर्नुप¥यो । तर खेलका सहायक रे फ्रीले अफसाइड झन्डा उठाए र घरेलु टोलीलाई राहत मिल्यो । नेपालले पहिलो अवसर छैटौँ मिनेटमा बनायो । अविनाश स्याङ्तानले लामो दूरीबाट गरेको सशक्त प्रहार दोस्रो बार हुँदै बाहिरियो । दसौँ मिनेटमा नेपालले अर्को आक्रमण बुने पनि सफल भएन । अनिल भोमजनले २७ औँ मिनेटमा लामो दूरीबाट गरेको महत्त्वाकाङ्क्षी प्रहार भुटानका गोलकिपर लोचो निमाले सहजै रोके ।
समीर तामाङले ३५ औँ मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाले । तीन डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाट उनले फितलो प्रहार गरे । ३८ औँ मिनेटमा नेपाली डिफेन्डर सजगनहुँदा घरेलु टोली गोल व्यहोर्नबाट बच्यो । त्यसको केही समयमा नै नेपालको आक्रमणले सफलता पाएन । करिब २५ यार्ड टाढाबाट अविनाशले गरेको प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो र फेरि एकपल्ट नेपालले अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा भुटानको प्रहार नेपाली गोलकिपर जियारथ रोक्दै घरेलु टोलीको सङ्कट टारे ।
दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन गर्यो । तर उल्टै गोल खान पुग्यो । भुटानले ५४औँ उत्कृष्ट अवसर बुन्दै नेपाललाई चुनौती दियो । किन्जाङ तेन्जिनको आक्रमण जियारथले मुस्किलले बचाए । तर, ५६औँ मिनेटमा नै भुटान सफल भयो । घरेलु टोलीको खराब डिफेन्सको फाइदा लिँदै जित्सुइन दोर्जी करिब २२ यार्ड टाढाबाट गोल गरे । त्यो गोलसँगै नेपाल दबाबमा प¥यो । तर, नेपालले आक्रमणमा सुधार गर्दै लगातार अवसर बुन्यो । नेपालले ७०औँ मिनेटमा फ्रिकिकबाट खेलमा फर्कने अवसर पायो ।
करिब २० यार्ड टाढाबाट अविनाशले गरेको सशक्त प्रहार भुटानका गोलकिपर निमाले पन्च गर्दै बचाए । चार मिनेटपछि भने उनको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ७७औँ मिनेटमा भुटान १० खेलाडीमा सीमित भयो । भुटानका किन्जाङ तेन्जिनले नेपालका सविन घिमिरेलाई लडाएपछि उनी दोहोरो पहेँलो कार्ड सामना गर्दै बाहिरिए । त्यसको फाइदा लिँदै एक मिनेटपछि नै नेपाल खेलमा फर्कियो । राम थापाले दिएको पासमा नीराजनले हेडरमार्फत गोल गर्दै नेपालको आशा जगाए । नीराजनले ८० औँ मिनेटमा पनि अवसर बनाए ।
तर उनको लामो प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । ९० औँ मिनेटमा नेपालको अग्रता लिने लक्ष्य पूरा भएन । समीर तामाङले खेलमा अग्रता लिने अवसर गुमाए । नजिकै दूरीबाट उनको हेडर गोलमा परिणत हुन सकेन । त्यससँगै निर्धारित समयको खेल १–१ को बराबरीमै सकियो र खेलको निर्णयको लागि पेनाल्टी सुट आउटतर्फ धकेलियो । जहाँ सफलता प्राप्त गर्दै नेपाल फाइनलमा पुग्यो । अब नेपालले दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेशबिचको विजेतासँग फाइनलमा खेल्नेछ ।