images

प्रधानमन्त्रीलाई दाहालको चेतावनी: विद्युत् प्राधिकरणमाथि चालेको कदम तत्काल रोक्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्चिनुपर्ने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अहङ्कार, इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वमाथि निशाना साँधेको जिकिर गर्दै त्यसबाट सरकारले रोकिनुपर्ने बताएका हुन् ।

सरकारका प्राथमिकताहरू विवेक होइन, अहङ्कार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेको आरोप लगाउँदै अध्यक्ष दाहालले विद्युत् प्राधिकरणमा गर्न खोजिएको कामलाई तत्काल रोक्नुपर्ने जिकिर गरे ।

उनले भुटानी शरणार्थी काण्डमा छानबिन गरिरहेको इमानदार प्रहरी अधिकृतलाई सरकारले दण्डित गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

दाहालले भने, ‘हामी यही खबरदारी सडकमा लिएर जानेछौँ । सरकारका प्राथमिकताहरू विवेक होइन, अहङ्कार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेका छन् । जनतासँग क्षमा याचनासहित सच्याउनुहोस् । विद्युत् प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ । रोक्नुस् । भुटानी शरणार्थी काण्डलाई जता पु¥याउन, इमानदार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ । त्यो नगर्नुहोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ । रोक्नुहोस् । गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारमा सुध्रिनुहोस् ।’

अध्यक्ष दाहालले गिरिबन्धुमा गरिएको नीतिगत भ्रष्टाचार दोहोर्‍याउन र त्रिभुवन विश्वविद्यालयको मेरिटोक्रेसी नमिच्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।