images

रविलाई गगनको सुझाव: बयान दिनुभाछ, सफाइ पाएको होइन, फैसला कुर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको दाबी गरेका हुन् । सांसद थापाले आफूहरूसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको पनि उल्लेख गरेका छन् । नौ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको स्मरण गराउँदै सांसद थापाले ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको बताएका छन् ।

‘केही दिनदेखि संसद्मा केही साथीहरूले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरू भएरै त होला यत्रो संसद्मा सङ्घर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि । त्यसको टिओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । अनि त्यो तथ्य, प्रमाणहरू दिएनौँ होला हामीले ? हामीसँग भएको तथ्य, प्रमाणहरू पुगेन होला समितिमा ? हाम्रा साथीहरूले बोकेर जानु भएको छैन होला ? अनि यसमा ख्याल गर्नु भएन ? नौ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला ? गगनले भने ।

‘मलाई त समितिमाथि पूरा विश्वास छ । सूर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरूमाथि विश्वास छ । बरु साथीहरू झुक्किनु भयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान । सफाइ होइन । फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु । त्यो समितिमा बस्ने प्रत्येक साथीमाथि विश्वास छ मलाई । तर रास्वपाका साथीलाई अलि अप्ठ्यारो पर्ला कि ? किनकि कालोलाई सेतो कसरी भन्नु ? त्यसैले दिन गनौँ । राम्रोसँग गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । फैसला आउने दिन गनौँ । फैसला आएपछि सँगै बसौँला ।’ उनले भनेका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि संसद्मा बोल्दै नेपाल बङ्गलादेश हुनसक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।