images

भ्रष्टाचार वडा तहमै पुगिसक्यो, अब देश सम्हाल्न गाह्रो छः रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सङ्घीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको जिकिर गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले सङ्घीयतामा तल–तलसम्म अधिकार पुर्‍याउने नाममा भ्रष्टाचार लगेको आरोप लगाएका छन् । उनले राजनीतिक दलहरू नैतिक सङ्कटको पतनमा रहेको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष मिश्रले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा फसेको पनि टिप्पणी गरेका छन् ।

उनले भने, ‘हामीले सङ्घीयतामा तल तलसम्म अधिकार पुर्‍याउने  भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरि सीमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत सङ्घीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन् । नैतिक सङ्कटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भने पनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान् बन्दै छन्, त्यसको कारणले गर्दा एसियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताएका छन् ।