images

बडादसैँ अन्तर्गत आज महाअष्टमी र महानवमी पर्व मनाइँदै

काठमाडौं । आज दसैँको आठौँ दिन, नवमी तिथि पनि शुक्रवार नै परेकोले महाअष्टमी र महानवमी एकै दिन मनाइँदै छ ।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदै छन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्ति पीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
त्यसै गरी शुक्रवार नै प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ । दसैँ घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशु बलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्ति पीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च बलि पनि दिने गरिन्छ ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धि दात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोत पूजा र निशान पूजा गरिन्छ । यस अवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन रहेको छ ।