images

सरकार पीडितलाई राहत र पुनः व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दछ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरूलाई राहत दिने र पुनः व्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएकी छन् ।
सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै उनले अब उनीहरूलाई राहत दिने र पुनः व्यवस्थापनको काममा लाग्नुपर्ने बताएकी हुन् । पूर्व राष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रूपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकअनुसार सेवा प्रदान गर्नुपर्ने धारणा राखिन् ।
उनले भनिन्, ‘जनताको लागि आफ्नो सबै भन्दा भरपर्दो अभिभावक भनेको राज्यले नै हो । राज्यमा विभिन्न ढङ्गले प्रतिनिधित्व भएको हुन्छ । एउटा त सरकार हुन्छ । स्थायी सरकारको रूपमा विभिन्न राज्यको अङ्गहरू छन् । उहाँहरूले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ । र, राज्यले पनि, सरकारले पनि गरिराखेको छ । कहिले काहीँ अप्रत्याशित घटनाहरू हुन्छन् । जसलाई हामी दुर्घटना पनि भन्छौँ । यसपालिको यो वर्षापछि अप्रत्याशित हो । त्यसैले गर्दा राज्यको तर्फबाट राज्यका सबै अङ्गहरूले जनतालाई गर्नुपर्ने जुन सेवा, सुविधा हो । त्यो चाहिँ तदारुकताका साथ दिनुपर्छ । अहिले सबैभन्दा ठुलो बाटोमा अवरोध भएको छ । बाटोलाई समय मानै सुचारु गर्नुपर्ने हुन्छ । त्यस्तै गरेर धेरै यो प्रकोपमा पर्नुभएको छ । अव प्रकोपमा परेकाहरूको उद्धार कार्य त भइराखेको छ । अब उहाँहरूलाई राहत दिने र पुनः व्यवस्थापनको काम हामीले गर्नुपर्ने हुन्छ । जो अब जीवन गुमाउनु भयो, उहाँ त गई नै सक्नुभयो । उहाँको परिवारलाई कसरी पुनर्स्थापित गर्ने र हाम्रो अभिभावक छ भन्ने खालको अनुभूति दिने, त्यो तहमा राज्यको तर्फबाट भूमिका हुनुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।’
पूर्व राष्ट्रपति भण्डारीले प्राप्त जनादेश अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्ने पनि उल्लेख गरेकी छन् ।