काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।
तिहार बिदापछि पहिलोपटक खुलेको बजारमा तीव्र उतारचढावबिच ०.२१ अंकले घटेको हो । योसँगै मंगलबार सेयर बजार २६७७.४० अंकमा झरेको छ । यो दिन बजारमा ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बजार २६९७ अंकसम्म पुगेको थियो भने न्यूनतम २६७० अंकसम्म झरेको थियो । मंगलबार सात उपसूचक बढ्दा ६ वटा उपसूचमा गिरावट आएको छ ।
सबैभन्दा बढी वृद्धि निर्जीवन बीमातर्फ १.०६ प्रतिशतले हुँदा सबैभन्दा धेरै गिरावट बैंकिङ समूहको ०.८१ प्रतिशतले भएको छ । बजारमा मंगलबार सुपर माई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
मंगलबार नेपाल फाइनान्सको सर्वाधिक २९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार भोल्युमका आधारमा प्रभु सेलेक्ट फण्ड पहिलो हुँदा कारोबारको संख्याका आधारमा मध्य भोटेकोसी पहिलो स्थानमा रहेको छ ।