images

हुम्लामा तेस्रो पटक हिमपात

काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णाली प्रदेशका उच्च जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ । हिजो दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

आज बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ । हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयवासी गौगोरा बोहराले बताए । यति बेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने किसानको भनाइ छ ।

हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित भएको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको छ ।