images

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाण्डौ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । ७१ वर्षीय वस्तीलाई हृदयघात भएपछि गएराति उपचारका लागि काठमाण्डौको थापाथलीमा रहेको नर्भिक अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालका अनुसार उहाँको राति नै निधन भएको हो ।

वस्ती २०६५ साल भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । पछि पदावधि नथपिएपछि उहाँ २०७० साल चैत २९ गते अस्थायी न्यायाधीशका रूपमै सर्वोच्च अदालतबाट अवकाश हुनुभएको थियो । सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गर्नुभयो ।

२०१० साल असार ८ मा जन्मिएका प्रकाश वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कानूनी सल्लाहकार बनेर काम गर्नुभयो । पछिल्लो समय उहाँ न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवम् पुस्तक लेखनमा सक्रिय हुनुहुन्थ्यो । ‘हाम्रो कानूनी इतिहासको नालीबेली’ वस्तीले लेख्नुभएको एउटा महत्त्वपूर्ण पुस्तक मानिन्छ ।