![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/Pathibhara_CC_3GsOrxowgn.jpg?fit=1300%2C646)
काठमाडौं । पूर्वी ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ । सोमबार साँझ ६ बजे मन्त्रालयमा मन्त्री लेखक र आन्दोलनरत पक्षबीच छलफल हुने नेकपा एमालेका सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।
सांसद भट्टराईले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताएका छन् । ‘आज बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निर्माणाधीन पाथीभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहार्दपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईले वार्ता समितिसँग निरन्तर छलफल गरेर वार्तामार्फत नै समस्याको समाधान गर्न अनुरोध गरेका छन् ।
आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरू मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँग मात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । उनीहरूले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।