
काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदाको न्यायका लागि दबाब स्वरूप विशाल जुलुस निकालिएको छ । शुक्रबार सिरहाको लहानमा दलित समुदायले रिंकु कुमारी सदालाई न्याय देऊ भन्दै विशाल प्रदर्शन गरेका हुन् ।
घटनामा संलग्न दोषीहरूलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको र घटना दबाउन अझै षड्यन्त्र भइरहेको भन्दै दलित समुदाय आन्दोलित बनेको छ । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध पारेका छन् ।
शुक्रबार जिल्लाभरका दलित अगुवा र मुसहर समुदायका व्यक्तिहरू प्रदर्शनमा सहभागी छन् । प्रदर्शनका क्रममा उनीहरूले ‘रिंकुलाई न्याय देऊ’, ‘अपराधीलाई समात्न नसक्ने असक्षम प्रहरी प्रशासन मुर्दावाद’, ‘घटना दबाउन खोज्नेहरू होसियार’ जस्ता नारा लगाएका छन् । दलित अगुवा रामसुफल सदाले पीडितको न्यायका लागि प्रदर्शन गरेको बताए ।
१७ वर्षीया रिंकु गत माघ ३० मा मृत फेला परेकी थिइन् । माघ २७ मा सामूहिक बलात्कृत भएकी उनलाई घटना बाहिर नल्याउन पञ्चायतमार्फत २९ माघमा दबाब दिइएको थियो । त्यसको बिहान पल्टै रिंकु घरमै मृत फेला परेकी थिइन् ।
गत माघ २६ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ । उनी तीनैजना र पञ्चायत गर्ने ५ अगुवामाथि पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका छन् । जाहेरी परेकामध्ये कोही पक्राउ पर्न सकेका छैनन् । प्रहरीले पञ्चायतमा संलग्न रहेको भन्दै जाहेरी बाहिरका तीन जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।