
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।
यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’
उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको प्रष्ट्याए । ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।
यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।