images

धरानमा खानेपानीको चरम अभाव

सुनसरी– धरानमा अहिले खानेपानीको चरम अभाव छ । सर्वसाधारणले खानेपानी अभावका कारण काकाकुलको जीवन बिताइरहेका छन् । पानी अभावको वास्तविकता उजागर गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले पानी वितरण स्थलमै गएर अनुगमन गरेको छ । अनुगमनका क्रममा पानी अभाव हुनुको कारण चुहावट समेत रहेको पाइएको छ ।
 धरान खानेपानी बोर्डको सदस्य समेत रहेको सङ्घले पानीको अभाव हुनुमा पम्प बिग्रिनु र चुहावट नियन्त्रण गर्न नसक्दा पानीको अभाव सिर्जना भएको जनाएको छ ।
खडेरीका कारण खोल्साखोल्सीको पानी समेत सुक्न थालेको, कतै पानी वितरणका पम्पहरू  बिग्रिएको भेटिएपछि सर्वसाधरणहरुले सहज रूपमा खानेपानी आपूर्तिका लागि माग गरेका छन् ।
पानीको हाहाकार बढेसँगै धरान खानेपानी बोर्डले भूमिगत पानीको स्रोतको आपूर्तिलाई बढाउन कोशी प्रदेश सरकारको सहयोगमा तीनकुने दक्षिणमा डिप बोरिङको काम सुरु गरेको छ ।
डिप बोरिङका लागि कोशी प्रदेश सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेका छ । तर चुहावट नियन्त्रणमा भने बोर्डले कुनै काम गरेको छैन । पानीको अभाव के कारणले भयो र यसलाई आपूर्ति गर्न के गर्नुपर्छ भन्ने बुझ्नकै लागि भूमिगत पानीको स्रोत भएको स्थलमै आएर बुझे काम गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए  ।
समय समयमा विद्युतको अवरोधले समेत खानेपानीको आपूर्तिमा समस्या देखिएको,  जेनरेटरको व्यवस्था नभएको, लिंकेज पानीलाई जम्मा गर्ने प्रयास नगरेको जस्ता कुराहरू अनुगमनका क्रममा फेला परेको सङ्घले जनाएको छ ।  लिंकेज भएको पानीलाई मात्र रोक्ने हो भने दुई देखि तीन वडालाई खानेपानी पुग्ने सङ्घको भनाई छ ।
धरानमा हाल करिब ३० हजार धारा जडान  गरिएको छ । एक साता भन्दा लामो समयदेखि पानी नआउँदा स्थानीयहरूले बढी अभाव झेल्नु परेको स्थानीयले गुनासो गरेका छन् । अहिले खानेपानी बोर्डको दुई वटा ट्याङ्करबाट धरानवासीहरूलाई खानेपानी उपलब्ध गराउने प्रयास गरे पनि समस्या समाधान हुन नसकेको जनाइएको छ।
धरानमा दैनिक ३ करोड लिटर पानीको आवश्यकता  पर्ने गरेको छ ।