 
                                काठमाडौं । यस वर्ष बर्खायाममा सरदरभन्दा बढी पानी पर्ने, गर्मी पनि उच्च हुने प्रक्षेपणसँगै डेङ्गी सङ्क्रमण पनि थप बढ्न सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले मौसम विभागले धेरै पानी पर्ने भनेको अवस्थामा पूर्वानुमान मिल्यो भने त्यसले डेङ्गी सङ्क्रमणको जोखिम बढाउने बताएका छन्। पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टेलाई अनुकुल वातावरण बन्छ ।
डा.दाहालका अनुसार गएको वर्षको तुलनामा अहिले डेङ्गीको कम सङ्क्रमण देखिएको छ । तर अनुकुल वातावरण अब बन्दै जानेछ । त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाउन डा। दाहालले आग्रह गरेका छन् । पानी सङ्कलन हुने टायर, गमला, लामखुट्टे बस्ने झाडीको अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।
डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ । अघिल्लो वर्ष सन् २०२४ मा डेङ्गी सङ्क्रमण देशभर फैलिएको थियो । त्यसबाट १५ जनाको ज्यान गएको थियो भने झन्डै ४२ हजार जना सङ्क्रमित भएका थिए ।


 स्पेस समाचार
                                                                                        स्पेस समाचार                                         
                                                        






