images

काठमाडौंको वायु निकै अस्वस्थकर, सावधानी अपनाउन अनुरोध

काठमाडौं काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ ।

आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको  ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २१३ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।

वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २६५ छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको २०६ एक्यूआई छ ।

लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको मौसमविद्हरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ।