images

सगरमाथा संवाद आज सकिँदै, काठमाडौं घोषणापत्र जारी गर्ने

काठमाडौं । काठमाडौंमा जारी सगरमाथा संवाद आज सकिँदै छ। जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन कार्यक्रम हुँदैछ। समापन समारोहमा तीन दिनसम्मको छलफलको निष्कर्षसहित घोषणा पत्र मिडिया ब्रिफिङ मार्फत जानकारी दिइने सगरमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।

हिजो विभिन्न ८ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद भएको थियो । तेस्रो सत्रमा अन्तर्गत १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएकोमा अस्ति ४ र हिजो ८ विषयमा संवाद सम्पन्न भएको सगरमाथा संवाद सचिवालयले जानकारी दिएको हो। उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहललगायतका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।

शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो । त्यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेका थिए। सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ ।

यसैबिच सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवालयले आज बिहान माउन्टेन फ्लाइट गराएको छ। माउन्टेन फ्लाइटमा ६ जना विभिन्न देशका मन्त्रीसहित ३५ जना सहभागी छन्। त्रिभुवन विमानस्थलमा प्रवक्ता रेन्ज शेर्पाका अनुसार बिहानै माउन्टेन फ्लाइटमा निस्केका पाहुनाहरू केहिबेरमा ल्याण्ड हुँदैछन्।

सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।