
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा शुक्रबार पनि सुनुवाइ हुँदैछ । बिहीबार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा रहेको थियो थियो ।
पटक पटक स्थगित हुँदै आएको रिटमा गत मङ्गलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको छ ।
बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा शुक्रबार पीडितका तर्फबाट कानून व्यवसायीले बहस गरेपछि जवाफी बहस सुरु हुनेछ । जवाफी बहसपछि आदेश आउने छ ।
यसअघि बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलगायत र सरकारी वकिलले बहस गरेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिट निवेदन दिएकी थिइन् ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, रूपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई विपक्षी बनाइएको छ ।
उक्त प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।