images

गृहमन्त्रीको राजीनामाको रडाको, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा, सदन निरन्तर अवरुद्ध

कठमाडौं   भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । बुधबार पनि बैठक नै नबसी बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।  १ बजेका लागि बोलाइएको बैठक केही बेरअघि संघीय संसद् सचिवालयले सूचना टाँस गरेर ३ः१५ बजेका लागि सारिएको बताएको थियो ।

तर उक्त समयमा पनि बैठक नबसेपछि संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो । यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार पनि अवरुद्ध भएको थियो । मंगलबारको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग थियो ।

तर, सत्तारूढ एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने पुराने अडान दोहोर्‍याएका छन् । बुधबार दिउँसो संसद् भवनमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीले पुरानै अडान यथावत् रहेको बताएको हो ।

बैठकमा सहभागी माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकार पक्ष गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउन दुवैमा तयार नभएपछि सहमति नभएको बताउँछन् ।

तर यता सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि छानबिन गर्नको लागि समिति नबन्ने प्रष्ट पारेका छन् । विपक्षीले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध जारी राखेको बेलामा अहिले कुनै समिति नबन्ने उनको दाबी छ ।