
काठमाडौं । स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत सीईओमा पुष्पराज गिरी नियुक्त भएका छन् । मिडियाको प्रशासनिक क्षेत्रमा एक दशक भन्दा बढी नेतृत्वदायी भूमिकामा रहेर अनुभव हासिल गरेका गिरी स्पेस फोरके टेलिभिजनको सीईओमा नियुक्त भएका हुन् । सोमबार एक कार्यक्रमका बीच उनलाई औपचारीक रुपमा टेलिभिजनमा स्वागत गरिएको छ ।
स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा. दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले सीईओ गिरीलाई औपचारीक रुपमा स्वागत गरेका हुन् । टेलिभिजनका कार्यकारी निर्देशक भुसालले आगामी दिनमा नविनतम सोचका साथ मिडिया सञ्चालन गर्ने बताए । प्रतिस्पर्धी समाजलाई पछ्याउँदै मिडिया बजारमा कोसेढुङ्गा सावित हुने गरी काम गर्ने उनले बताए ।
सोमबार मात्रै नियुक्त भएका स्पेस फोरके टेलिभिजनका सीईओ गिरीले आफूले मिडिया क्षेत्रमा हासिल गरेको अनुभवलाई व्यवहारमा उतार्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । मिडियाको प्रशासनिक क्षेत्रमा काविल मानिएका गिरीले टिमवर्कले नै सञ्चार गृहको काम प्रभावकारी हुने बताए । टिमवर्कका साथै डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ ।
स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले मिडियाप्रतिको आम नागरिकको दृष्टिकोण नै बदल्ने गरी काम गर्नुपर्ने बताए । नयाँ भिजन र मिसनसहित परिणाममुखी काम गर्नका लागि सबैको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।
स्पेस फोरके टेलिभिजनका नवनियुक्त सीईओ गिरीसँग दुई कार्यकाल गरी कान्तिपुर मिडिया ग्रुपमा ८ वर्ष, ग्यालेक्सी मिडिया ग्रुप लगायत अन्य मिडिया हाउसमा नेतृत्वमै रहेर काम गरेको अनुभव छ ।