images
images
images

शैक्षिक परामर्श संस्थाहरूको नवीकरण सूची सार्वजनिक, विवरणमा त्रुटि भए १५ दिनभित्र सच्याउन मन्त्रालयको आग्रह

काठमाडौँ, ३ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नविकरण भएका एजुकेशनल कन्सलटेन्सीहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले शैक्षिक एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नवीकरण भएका ७ सय २० शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्ने संस्थाहरूको सुचि सार्वजनिक गरेको हो ।
मन्त्रालयको सिंहदरबारस्थित कार्यालयबाट उपसचिव सेमन्तराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा सञ्चालन, तयारी कक्षा, ब्रिज कोर्स तथा भाषा परीक्षण गर्न अनुमति लिएका संस्थाहरूको नवीकरण सूची प्रकाशन गरिएको उल्लेख छ । यो सूची मन्त्रालयको आधिकारिक निर्णयअनुसार सार्वजनिक गरिएको हो, जसले गर्दा सेवाग्राही तथा सरोकारवालाहरू कुन संस्थाले कानुनी रूपमा सेवा सञ्चालनको अनुमति पाएको छ भन्नेबारे स्पष्ट हुन सक्नेछन् ।
त्रुटि सच्याउन १५ दिने म्याद
मन्त्रालयले प्रकाशित सूचीमा कुनै संस्थाको विवरणमा फरक परेको वा कुनै त्रुटि भएको भएमा त्यसलाई सच्याउनका लागि १५ दिनको समयसीमा तोकेको छ । सूचनामा भनिएको छ, “संलग्न सूचीमा कुनै पनि संस्थाको विवरण फरक पर्न गएमा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आफूले प्राप्त गरेको नवीकरण पत्रको प्रतिलिपिसहित सूचना प्रकाशन गरिएको मितिले १५ दिनभित्रमा सूचना दिनुहुन सूचित गरिएको छ ।“ यस व्यवस्थाले नवीकरण भएका तर सूचीमा विवरण फरक परेका संस्थाहरूलाई आफ्नो रेकर्ड अद्यावधिक गर्ने अवसर प्रदान गरेको छ ।
सेवाग्राहीलाई आधिकारिक सूचीबाटै सेवा लिन अनुरोध
मन्त्रालयले सर्वसाधारण तथा विशेषगरी विद्यार्थीहरूलाई आधिकारिक रूपमा नवीकरण भएका संस्थाहरूबाट मात्रै सेवा लिन आग्रह गरेको छ । सूचनामा भनिएको छ, “शैक्षिक परामर्श सेवाको क्षेत्रमा सेवा लिनु पर्ने सेवाग्राहीहरूले समेत यसै सूचना बमोजिम प्रकाशित सूचीका संस्थाहरूबाट सेवा लिनु हुन समेत मन्त्रालय अनुरोध गरेको छ ।“
सरकारको यो कदमले शैक्षिक परामर्शको क्षेत्रमा देखिने गरेका विकृति र ठगीलाई न्यूनीकरण गर्दै यस क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । हरेक वर्ष सरकारले तोकेको मापदण्ड पूरा गर्ने संस्थाहरूलाई मात्र सञ्चालन अनुमति दिने र नवीकरण गर्ने नीति लिएको छ, जसअनुसार यो सूची प्रकाशन गरिएको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS