काठमाडौं । बुधबार रातिदेखि वर्षा भएपछि काठमाडौं उपत्यकाभित्र हिमपात भएको छ । बुधबार काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो । ललितपुर जिल्लाको लाकुरी भन्ज्याङसहितका विभिन्न स्थानमा हिमपात भएको छ ।
काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो । राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो ।

यसअघि काठमाडौँ उपत्यका भित्रै २०६३ फागुन २ गते (फेब्रुअरी १४, २००७) मा हिउँ परेको थियो । त्यतिबेला काठमाडौँका त्रिपुरेश्वर, न्यूरोडसहतिका मूख्य भागमै हिउँ परेको थियो । त्यसअघि वि.सं. २००१ साल पुसमा काठमाडौँ उपत्यका भित्रै हिमपात भएको रेकर्ड छ।
जाडो जान लागेको समयमा बर्षात्सँगै हिउँ परेपछि काठमाडौँ उपत्यकाको मौसम पनि चिसिएको छ । हिउँले उपत्यकाका चन्द्रागिरि, नागर्जुन, शिवपुरी क्षेत्रका डाँडाकाँडा सेतम्मे भएका छन् । बुधबारदेखि देशैभर बर्षात् र हिमपात भएको थियो ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको बाजुरा र डडेल्धुरासम्ममा पनि बाक्लो हिमपात भएको छ । मौसम विभागका अनुसार हिजोदेखि देशभर मौसम बदली भएर पानी परिरहेको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी भागमा हिमपात र वर्षा भएको मौसमविद सुजन सुवेदीले बताएका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौं १६.२ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा रातभर नै पानी परेको थियो र बिहिबार तापक्रम अधिक्तम १०देखि १२ डिग्री हुने अनुमान गरिएको छ।

मौसम विभागले बिहीबार दिउँसो पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले शुक्रबार घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ।
हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले मौसम सफा हुन केही समय लाग्ने बताएका छन् । महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायु सर्दै पूर्वी क्षेत्रमा पुगेकाले त्यसैको असरस्वरुप वर्षा र हिमपात भइरहेको जानकारी दिँदै बेलुकीदेखि मौसममा सुधार आउने बताए ।
 
 


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        






