images
images

४४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुग्यो पेरु, ब्राजिलसँग अन्तिम भिडन्त हुने पक्का

काठमाडाैं । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलाे प्रतियोगिता काेपा अमेरिकाकाे दोस्राे सेमिफाइनलमा साबिक विजेता चिलीलाई ३–० को नतिजामा पराजित गर्दै पेरुले फाइनलमा आयोजक ब्राजिलसँगको भेट निश्‍चित गरेको छ।

बिहीबार बिहान सम्पन्‍न खेलको २१औं मिनेटमा फर्वार्ड एडिसन फ्लोरेसले गोलबाट पेरुले अग्रता लिएको थियो। साबिक विजेतामाथि हाबी बनेको पेरुका लागि ३६औं मिनेटमा योसिमर योटुनले गोल गर्दै दोब्बर पारेका थिए। दुवै गोलका लागि एन्ड्री कारिलोले पास मिलाएका थिए।

पहिलो हाफमा पेरूले २–० को अग्रता लिएको थियो। दाेस्रो हाफकाे सुरुआतदेखि नै खेलमा फर्किने प्रयास गरेकाे चिलीका फर्वार्ड एडवार्डो भर्गासले ५०‍औं र ७५‍औं मिनेटमा गरेको प्रहार गाेल पोस्टमा लागरे फर्किएको थियो। त्यस्तै एलेक्सिस साञ्‍चेजकाे प्रहारमा पेरुका गोलकिपर पेड्रो गेलेस बाधक बने।

पेरुका कप्तान पाउलो गुरेरोले निर्धारित समयको अन्तिम मिनेटमा तेस्रो गोल गर्दै पेरुलाई ४४ वर्षपछि फाइनलमा पुर्‍याउने निश्‍चित गरेका थिए। उनले रेनाटो टापियाको पासलाई गोलमा परिणत गरेका थिए। इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा चिलीका भर्गास चुकेपछि यसअघिका दुई संस्करणको विजेताले सान्तवना गाेल फर्काउने अवसर गुमायो।

उरुग्वेलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै पेरु सेमिफाइनलमा आइपुगेको हो भने चिलीले पनि कोलम्बियाविरुद्ध सोही नतिजा निकालेको थियो।

पेरुले १९३९ मा घरेलु मैदानमा आयोजना गरेको काेपा अमेरिकाको फाइनलमा उरुग्वेलाई पराजित गर्दै पहिलो उपाधि जितेकाे थियो। त्यस्तै १९७५ को संस्करणको फाइनलमा कोलम्बियालाई स्तब्ध पार्दै दोस्रो पटक उपाधि उचालेकाे थियो।

चिलीले यसअघि २०१५ र २०१६ दुवै संस्करणको फाइनलमा अर्जेन्टिनालाई निराश पार्दै उपाधि उचालेकाे थियो।