images

‘माओवादी नेताले नै बसाले, उनैले नै उठीबास लगाए’

?

कैलाली । बाँसले बनाएको सानो झुप्रो । झुप्रोभित्र बालकलाई काखमा राखेर दूध चुसाउँदै थिइन् देवी विक । एक्कासि हातमा गैटी, चक्कु, कोदालो, करेंत बोकेको एक समूहले झुप्रोमा गैटीले हिर्काउन थालेपछि उनी त्रासमा बाहिरिइन् । त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, ‘पकाएको खाना खान दिनुस् । त्यसपछि भत्काउनु होला घर ।’ छेउमै रहेकी अर्र्की महिलाले कराउँदै भन्न थालिन्, ‘बच्चाभित्र छन्, बाहिर निकाल्न दिनुस्, भित्रै मर्लान् ।’

उनीहरूको बिन्ती सुनिएन । झुप्राहरु भत्काइन थाले । दुई/तीन झुप्रोमा दन्केको आगोको कालो धुवाँले आकाश छोपियो । बस्तीमा बाल बच्चा र महिलाको रुवाबासी चल्यो । चलचित्रमा जस्तै ‘गुण्डाराज’ को यो हृदयविदारक दृश्य गोदावरी नगरपालिका–६, हरैयास्थित सुकुमबासी बस्तीको हो ।

२०/२५ जना ‘बाउन्सर’ भाडामा लिएर असारे झरीमा कानुन हातमा लिँदै झुप्राहरु भत्काएर सुकुमबासीलाई बिचल्ली पारिँदा प्रहरी प्रशासन मौन बसेको छि । बिहीबारदेखि सुरु भएको ‘गुण्डाराज’ शनिबारसम्म जारी छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुकुमबासी बस्ती भत्काइएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीदत्त लम्सालले पनि सुकुमबासीका टहरा भत्काइएको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । शौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सदस्य शंकर कार्कीले भने जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई जानकारी दिएर नै आफूले सुकुमबासी टहरा भत्काएको बताएका छन् ।

‘माओवादी नेताले नै बसाले, उनैले उठीबास लगाए’
दस वर्षे माओवादी द्वन्द्वका बेला कैलालीको हरैयामा दाङका रणबहादुर शाहको २३ बिघा जमिन बाँझै थियो । तत्कालीन विद्रोही माओवादीले जुक्ति निकाल्यो– बाँझो जमिन कब्जा गरेर सुकुमबासीलाई बसाउने र उनीहरूको मन जितेर युद्धमा लगाउने । यसैका लागि त्यहाँ सुदूरपश्चिमका पहाडी जिल्ला, मध्यपश्चिमका रुकुम, रोल्पा, कालिकोटलगायत विपन्न, दलित तथा कैलाली र कञ्चनपुरका थारु समुदायलाई ल्याएर बसालियो । तत्कालीन माओवादीले कब्जा गरेको जमिनमा गाउँगाउँबाट सुकुमबासीलाई ल्याएर २०६१ जेठ १३ गते हरैयामा राखेको स्मरण गर्दै सन्जु चौधरीले भनिन्, ‘हामीलाई तत्कालीन समयमा मोआवादी नेता लेखराज भट्टले नै यहाँ बसाले ।’ सुरुमा १५ सय परिवार ल्याएर माओवादीले नै यहाँ बसालेको उनले बताइन् । ‘यो बाँझो जमिनमा सुरुमा हामी १५ सय सुकुमबासी परिवार बस्यौं,’ उनले भनिन्, ‘बाँझो जमिनमा बस्दा तत्कालीन प्रहरी प्रशासनले हामीलाई सतायो । हामी प्रशासनको धम्की सहँदै बस्यौं । प्रशासनको धम्की सहन नसक्नेहरु यहाँबाट गए, हामी बस्यौं ।’

तत्कालीन समयमा माओवादीले ‘यो जमिन तिमीहरुको नै हो, खनजोत गर, यहीं बस’ भनेको उनले बताइन् । १५ सय परिवारमध्ये दुई सय परिवार यहीं बसेको उनी बताउँछिन् । ‘२०६१ सालमा बसेका १५ सय परिवारमध्ये अन्तिमसम्म दुई सय परिवार मात्रै रह्यौं,’ उनले भनिन्, ‘त्यसमा पनि हामी ५२ जना सहिद परिवारका छौं ।’ माओवादी युद्धमा लागेर यही शिविरका ५२ जनाले ज्यान गुमाएको समेत उनले बताइन् ।

गरिब परिवारलाई अनेक सपना देखाएर माओवादीले कब्जा गरेको जमिनमा ल्याएर राखेको र केहीले माओवादी युद्धमा लागेर ज्यान गुमाएको बताउँदै उनी भन्छिन्, ‘हाम्रै आफन्तको रगतबाट माओवादी सत्तामा पुगेका बेला १५÷१६ वर्षदेखि बस्दै आएका हाम्रा टहरा भत्काएर बिचल्ली बनाइयो ।’ त्यतिबेला आफूहरुलाई सपना देखाएर यहाँ ल्याएर बसाल्ने नेताहरु नै अहिले उठीबास लगाउन लागिपरेको उनको आरोप छ । घर भत्काउनमा पनि तत्कालीन बाइसिएलका कार्यकर्ताको संलग्नता रहेको शिविरका सुकुमबारी बताउँछन् ।

सुकुमबासी बस्तीकी अर्की सुन्तली विकले भनिन्, ‘हामीलाई त्यतिबेला माओवादी नेताले खाली जमिनमा ल्याएर राखे । अहिले आएर उनीहरूले नै उठीबास लगाए ।’ त्यतिबेला माओवादी नेताले कैलालीको हरैयामा कब्जा गरेको जमिनमा बसाल्ने र पार्टीलाई सहयोग गर्नुपर्छ भनेरै डोटीबाट ल्याएको बताउँदै उनले भनिन्, ‘यतिका वर्षसम्म हामीलाई यहाँ बसालियो, अहिले झरीमा आएर उठीबास लगाउन थालियो । यो झरीमा अब कहाँ ओत खोजौं ।’ उनी परिवारका पाँच जना बालबच्चासहित शिविरमै बस्दै आएका छन् ।

यसरी बेचियो जमिन
दाङका रणबहादुर शाहबाट पोखराको शौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले २०७५ जेठमा कैलालीको हरैयास्थित जमिन किनेको हो । शौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका शंकर कार्कीका अनुसार जमिनदार शाहबाट ४७ करोड रुपैयाँमा २३ बिघा जमिन किनिएको हो । द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीले कब्जा गरेको जमिन सस्तो मूल्यमै भए पनि बेच्ने दाउमा शाह थिए । त्यही समयमा जमिनदार शाह र प्रालिबीच चितवनको सेती चुरोट करखानाको जग्गा किनबेचको सहमति भयो । तर त्यहाँको जग्गा नदिएर प्रालिलाई हरैयाको जग्गा दिइयो । हरैयाको जग्गा देखाएपछि उताको लगानी यता लगाएको थियो प्रालिले । माओवादीले कब्जामा लिएर सुकुमबासीलाई बाँडेको हरैयाको जमिन किनबेचमा पछि सुदूरपश्चिमका तत्कालीन माओवादी नेताहरुले सहयोग गरे । माओवादीले कब्जा गरेर सुकुमबासीलाई वितरण गरेको जमिन किनबेचमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ ।

हरैया जमिनमा तत्कालीन माओवादीले बसाएका सुकुमबासीहरुले आफूहरुलाई उचित व्यवस्थापन नगरेसम्म जग्गा नछोड्ने अडान लिँदै आएका छन् । हरैयामा रहेका ६२ परिवारलाई धनगढी उपमहानगरपालिका–१७, धुरजन्नामा एक÷एक कट्ठाका दरले प्रालिले जमिन उपलब्ध गराई स्थान्तरण ग¥यो । धुरजन्नामा खानेपानी, शौचालय, विद्यालयको उचित व्यवस्थापन नभएको भन्दै बाँकी परिवार हरैयामै फिर्ता भए । फिर्ता भएका परिवारलाई प्रतिपरिवार दुई लाख ८ हजारका दरले प्रालिले पैसा दिई सो जमिन छोड्न भन्यो तर, उनीहरुले आफूहरुलाई पैसाभन्दा पनि वैकल्पिक व्यवस्था नहुन्जेल हरैया नछाड्ने बताए ।

झरीमै किन उठीबास लगाइयो
हरैयामा वर्षौदेखि बसेका सुकुमबासीको जमिन २०७५ जेठमा सुदूरपश्चिमका माओवादीका केही उच्च तहका नेताको सहयोगमा जमिनदार शाहबाट सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिलाई बेचाइयो । त्यसलगत्तै सुकुमबासीलाई हटाउन प्रालिका सञ्चालकले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिए । तत्कालीन कार्यालय प्रमुखहरुले द्वन्द्वकालीन राजनीतिक मुद्दा भएकाले केन्द्रको लिखित निर्देशन नभई आफूहरुले हटाउन सहयोग गर्न नसक्ने बताएपछि प्रालि पछाडि हटेको थियो ।

स्रोतका अनुसार प्रालिले तत्कालीन समयमा सिडिओ र प्रहरी प्रमुखलाई लालच देखाए पनि उनीहरुले उक्त कुरा मानेनन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा भएपछि पुनः प्रालिले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा हरैया शिविरका सुकुमबासीलाई हटाउन भन्दै निवेदन दियो । ‘हामीले चार/पाँच दिनअघि मात्रै सुकुमबासी हटाइदिन भन्दै प्रहरी, प्रशासनमा निवेदन दिएका थियौं,’ प्रालिका सदस्य कार्कीले भने, ‘प्रहरी प्रशासनले आफैं हटाउन भनेपछि कामदार लगाएर टहरा भत्काएका हौं ।’ गत वर्ष जमिन किनेलगत्तै पनि प्रहरी र प्रशासनमा सुकुमबासी शिविर हटाइदिन भन्दै निवेदन दिएको उनले बताए ।

कैलालीका पूर्वप्रहरी प्रमुख आभूषण तिम्सेनाले सुकुमबासी बस्ती हटाइदिन निवेदन आएको तर तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी र आफूले केन्द्रको निर्देशनबिना तथा सुकुमबासीको बैकल्पिक व्यवस्था नभएसम्म हटाउन नमिल्ने भनेको बताएका थिए ।

अमानवीय कार्यः अधिकारकर्मी
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख झंकर रावलले प्रत्येक नागरिकको बसोबास गर्न पाउने अधिकार रहेको बताउँदै भने, ‘बर्खामा उचित व्यवस्थापन नगरी सुकुमबासीलाई उठीबास गराउनु गलत हो ।’ कसैले कसैको जमिन कब्जा गरेको भए कानुनी प्रक्रिया अनुसार जानुपर्नेमा अनधिकृत मानिस (कानुन प्राप्त नभएको) ले बलजफ्ती गरेर घरै भत्काउनु र आतंक सिर्जना गर्नु गलत हो ।’

कानुन व्यवसायी गम्भीरसिंह ऐरले सुकुमबासीलाई हरैयाबाट प्रक्रिया मिलाएर हटाउनुपर्नेमा असारे झरीमा बल प्रयोग गरेर हटाउने र घर भत्काउने काम गलत भएको बताए । ‘यो कानुनी शासनको धज्जी उडाउने र आतंक सिर्जना गर्ने काम हो,’ उनले भने, ‘आफ्नो जमिनबाट हटाउन पाइन्छ, तर त्यसका लागि अदालतमा जाने र अदालतको आदेशअनुसार राज्यका अंगले काम गर्ने हो ।’ अर्का कानुन व्यवसायी गंगाप्रसाद पाध्याय पनि अर्काको जमिनमा सुकुमबासी ल्याएर बसाल्नु र प्रक्रिया नपु¥याइ गुण्डागर्दी शैलीमा उठीबास लगाउनु गतल भएको बताउँछन् ।

नेपाल किसान संघका कैलाली जिल्ला अध्यक्ष टीकादत्त जोशीले वर्षाको समयमा घर नभएकालाई घरमा आश्रय दिनुपर्नेमा भएका घरै भत्काएर बिचल्ली बनाउनु अमानवीय र निन्दनीय कार्य भएको बताए । उनले भने, ‘आफै बोक्सी आफैं झाँक्री भनेझैं माओवादीका नेताहरुले नै अर्काको जमिन कब्जा गरेर बसाले, उनीहरुले नै जमिन बिक्री गराएर अहिले सुकुमबासीलाई हटाउन लगाउँदैछन् ।’ मोहन वैद्य निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक टंक कोइरालाले २०६१ सालमा बसालिएका सुकुमबासीलाई राज्यले वैकल्पिक व्यवस्था नगरीकन गुण्डा लगाएर हटाउनु गलत भएको बताए ।

नागरिक दैनिकमा खबर छ ।