images

२००७ मा धनगढी–नेपालगञ्ज कब्जा गर्दा लडेका एक योद्धाको मनछुने संस्मरण

सिद्धिगणेश मानन्धर, धुस्वाँ सायमी र म तीन जना पटनामा आयौँ । पटनामा नेपाली काँग्रेसले क्रान्तिको तयारी गरिरहेको थियो । त्यहाँ नेपाली काँग्रेसको सदस्यता लिएर म पश्चिम नेपालको क्रान्तिमा सहभागी भएँ । लखनउमा एक महिना वितायौँ । हतियार सप्लाईको मुख्य काम थियो । नेपालको वोर्डरसम्म हतियार पुर्यायौँ । हामी धनगढी पस्यौँ । त्यहाँ सिपी सिंह वडा हाकिम थिए । तिनले आत्मसमर्पण गर्न नमानेकोले उनको हत्या नै भयो र उनको शव जंगलमा फालिएको थियो ।

महेन्द्रनगर पछि राजापुर कब्जा गर्ने योजना बनायौँ । राणाहरु राजापुरमा ५० जना सैनिक र आधुनिक हतियारसहित थिए । राजापुर त्यो कर्णाली नदीले घेरिएको छ । त्यहाँ बाह्रैमास डुंगा चल्ने नदी छ । हामीले भएका सवै डुंगा कब्जा गर्यौँ । एउटा आर्कको कमाण्डर सिद्धीगणेश थिए, तेस्रो आर्कको कमाण्डर मलाई सम्झना भएन ।

राजापुरको स्थानीय काँग्रेसको कार्यकर्तालाई मिलायौँ र राजापुरको उत्तरी क्षेत्र कब्जा हामीले कुटनीतिक ढंगले गरेका थियौँ । राजपुरमा अघिल्लो विहानसम्म राणाका मान्छे पछिल्लो विहान नै हाम्रो भएका थिए ।

थारुको घरघरमा बन्दुक हुँदोरहेछ । १० औ हजार जनता जम्मा भए । हामीसँग काम लाग्ने हतियार केवल ७ वटा जति मात्र थिए । त्यो वेला म क्वार्टर मास्टरको रुपमा थिए । हतियार र पैसाको जिम्मा मेरो थियो ।

महेन्द्रविक्रम शाह कांग्रेसको महामन्त्री थिए । उनले भाषण गरे । भाषण पछि राणाहरुका सैनिकले आत्मसमर्पण गरे । राणाको मुख्य कमाण्डरलाई छोडेर अरुलाई मुक्ति सेनामा सरिक गर्यौँ । वर्दियाको भजनी कब्जा गर्यौँ । गुलरिया कब्जा गर्यौँ ।

यही वेलामा नै दिल्ली सम्झौता भयो । त्यस बेलाको सामूहिक रुपमा ३५ जना जनमुक्ति सेनाले युद्धविरामलाई अस्वीकार गर्दै प्रेस विज्ञप्ती जारी गर्यौँ । नेपालगञ्ज त शान्ति सुरु भएपछि कब्जा भयो ।

नेपालगञ्जको वोर्डरमा चौकी थियो । त्यो कब्जा गरेर हामीले वडाहाकिम रुक्म शम्शेरलाई चाँडोभन्दा चाँडो आत्मसमर्पण गर्न अनुरोध गर्न भन्यौँ । हामी जानुभन्दा एक घन्टा अगाडि नै हात्तिमा चढेर भाषण गर्दै जनतालाई धम्की मान्दैनौ भन्दै हिंडेका रहेछन् तर उनले हाम्रो पत्र पाउने वित्तिकै आत्मसमर्पण गरे । दाङतिरबाट आएको हतियार, सेना भरत शम्शेरको कब्जामा र वडा हाकिम हाम्रो कब्जामा भए ।

मातृका प्रसाद कोइरालालाई खवर गर्यौँ । आधा हतियार दाङको साथीहरुले र आधा हामीले लिने निर्णय भयो । त्यो वेला आकाशवाणी चल्थ्यो । आकाशवाणीको उपयोग गरेर रेडियो नेपालगञ्ज भनेर प्रत्येक दिन प्रसारण गर्यौ । जमिन्दारहरुको जग्गा सोझै वाँडेर लेउ । हामी माथि कुरा गरेर मिलाउँछौँ भन्यौँ । यो थाहा पाएर सामन्तहरु दिल्ली गएछन् ।

हाम्रो समूहका धेरै जना साथीहरु फर्कियौँ । मोहीले जग्गा धनीलाई नदेउ, जमिन्दारी नमान्ने भनेपछि भरतमणी शर्माको नेतृत्वमा भारतीय फौज भित्र्याइयो ।

फौजीहरुलाई हतियारमुक्त मात्र गरियो । दशरथ चन्दका भाई ललितचन्द लगायतका राजनीतिक मान्छेलाई बहराइचमा लिएर थुनियो । विना लाइसेन्सका वन्दुकहरु थिए । एक हजार टुवेलभरका वन्दुक भेटायौँ । घर घरमा रक्सी वनाउने चलन रहेछ । सात सय परिवार नै त्यो वेला रक्सी वेचेर बाँचिरहेको पायौँ ।

त्यही क्रान्तिको वेलामा नै निर्मल लामासँग चिनजान भयो । रुपसिंहको नेतृत्वमा एउटा टोलीलाई पठाइयो । निर्मल लामाको टोलीलाई वैतडी कब्जा गर्न पठाइयो । रुपसिंह पछि कम्युनिष्ट पार्टीका सदस्य पनि भए । रुपसिंहले पठाएको पैसा ध्यानसिंहको मान्छेले थाहा पाएर एक जनालाई मारियो, एक जना हातमा गोली लागेको मान्छे आए, एक जना भागे । ध्यानसिंह नामूद काँंग्रेसका नेता भनेर झूटको खेती गर्दारहेछन् । कुटपिट गरेर नै अपराधीसँग सावुती वयान दिए । यो क्रिमिनल मान्छे हो । यसलाई सजिलैसँग मर्न दिनुहुँदैन भन्ने भयो ।

रुक्म शम्शेरले आत्मसमर्पण गरेका थिए । आत्मसपर्मण गरेका मान्छेलाई फासी दिने कि नदिने भन्ने विषयमा निकै ठूलो विवाद पनि भयो । वद्री, मलगायतका साथीहरुले आत्मसमर्पण गरेको मान्छेलाई मार्नु हुँदैन भनेर उनलाई सेना लगाएर वोर्डर क्रस गराइदिएका थियौँ ।

धनगढीमा निकै लामो समय वसियो । पेट्रोलिङको जिम्मा मेरो थियो । सेन्ट्रीमा वसेको मान्छे सुतिरहेको देखियो । त्यसलाई कन्चटमा राखेर पेस्तोल ताकेको त ह्यान्सप भनेको त उसले म नेपाली काँग्रेस होइन होइन भनी करायो । त्यो ड्युटीको मान्छेलाई साथीहरुले झन्डै गोली हानेका थिए । यस्तो लापरवाही गर्नु हुन्न भनेर भोलीपल्ट सवै सेनालाई प्रशिक्षित गरियो ।

सूर्यप्रसाद उपाध्यायसँग मेरो धेरै निकटको सम्बन्ध थियो । मैले थाहाँ पाएकी उहाँ आउनुभएको रहेछ । सूर्यप्रसादले विपीलाई चिठी लेखेर भने कि जसरी पनि विपीलाई नै प्रत्यक्ष रुपमा दिनु भन्नुभयो । विपीले मलाई एउटा चिठी बुझाउन जाँदा छ घन्टा कुराए पछि मैले के सोचे भने ६ घन्टा एउटा चिठी लिन लगाउने नेता जनता, किसानको नेता हुँदैन भन्नेलाग्यो । विपीको यो प्रकरण पछि मैले नेपाली कांग्रेस छोड्ने निर्णय गरे र २००७ सालको क्रान्तिको जनमुक्ति सेनाको सदस्य कम्युनिष्ट आन्दोलनतिर प्रवृत्त भए । यार्सा न्यूजबाट