दार्चुला, २५ भदौ । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । प्रत्येक वर्ष चमेलिया नदी वर्षायाममा उर्लेर आउँदा उनलाई त्यही समस्याले पिरोल्थ्यो । उर्लेर बहेको चमेलिया नदीका छाल जब घरभित्रै आउँथ्यो त उनलाई मृत्युको आभास हुन्थ्यो ।
यसपटक भने उनले केही राहत फेरेकी छन् । बर्खा सकिनैलाग्दा पनि यस वर्ष त्यो टोलवासीले बर्खाको समस्या झेल्नुपरेन । सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयवासीको राति सुत्ने सपना पूरा भएको छ । झण्डै एक किलोमिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि यहाँको बस्ती मात्र नभई पूरै गोकुलेश्वर बजार सुरक्षित भएको छ ।
गोकुलेश्वरमा तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम कम भएको छ । चमेलिया नदीले हरेक वर्ष कटान गर्दै आएको गोकुलेश्वर बजार र बस्ती तटबन्ध निर्माणपछि जोगिएको हो । हरेक वर्ष नदीले जमीन कटान गर्दै लगेको थियो । नगरपालिका कार्यालयको तलदेखि चमेलिया पुलसम्म तटबन्ध निर्माण गरिएको छ । आरसीसी र ग्याबियन जालीसहितको तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम घटेको चमेलिया तटबन्ध निर्माण समितिका अध्यक्ष सुरेश भण्डारीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेर तटबन्ध निर्माण गरेको हो । दुई उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणपछि गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर अस्पताल र बादी बस्ती यो वर्ष नदीको जोखिमबाट बचाउन सकिएको अध्यक्ष भण्डारीको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत चमेलिया किनारमा तटबन्ध लगाइएको हो ।
“तटबन्ध निर्माणपछि चमेलियाका नदी घरभित्र छिर्न पाएन”, स्थानीय कुमा बादीले भने, “विगतमा चमेलियाको पानी बर्खायाममा घरभित्र पस्थ्यो, यो वर्षदेखि ढुक्क भएर निदाउन पाइएको छ चमेलिया किनारमा आश्रित हामीहरुको लागि तटबन्ध निर्माणपछि राहत मिलेको छ ।”
हिउँदमा चमेलिया नदीको सतह घटे पनि बर्खायाममा उर्लेर आउँछ । पूरै बजार क्षेत्रसम्मै नदीको जोखिम हुने गरेको थियो । अहिले आधा भू–भागसम्म मात्रै तटबन्ध निर्माण गरिएको छ । पूरै तटबन्ध आरसीसी वाल निर्माण गरेर बनाए अझै गोकुलेश्वर बजार जोगाउन सकिने स्थानीय व्यापारी तिलक साउदले बताए ।
चमेलिया नदीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार मात्र नभएर मकरीगाड, ओखल, लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलबवगड, बलाच, दहखाली, छोला, मकन्ना, देथला, कुकुडेपानी, लुइटा, ओसल, नाइल, गाजरी, कड्पते, गोकुलेश्वर, जगतपुरी र बसकोट बस्तीलाई समेत वर्षेनी जोखिममा पार्दै गइरहेको छ ।