images

‘नागरिक सहायता कक्ष’ शुरु

काठमाडौँ, ८ असोज । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । आजबाट कलङ्की र बल्खुमा कक्ष शुरु भएको छ ।

बुधबारबाट थप १४ स्थानमा कक्ष शुरु गर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए । उनले भने,“धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।”

यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ ।