images

१२ घन्टादेखि लगातार वर्षा केही दिन अझै उच्च वर्षा हुने

काठमाडाैं । राजधानीसहित देशका अधिकांश ठाउँमा पछिल्लाे १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘यो क्रम बिहानभर नै रहने देखिन्छ, दिउँसो केहीबेर थामिए पनि पुनः वर्षा हुने सम्भावना छ।’

दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र प्रदेश १ र ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। राति पनि यो क्रम जारी रहने जनाइएको छ।

मौसमविद् पौडेलले यसअघि बिहान एक–दुई घण्टा घाम पनि लाग्ने गरेको र अब केही दिन लगातार पानी पर्ने सम्भावना रहेकाे बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सम्बन्धित निकायले आज साउन ४ गतेदेखि ८ गतेसम्म देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अनुराेध गर्दै केही दिनदेखि नै सूचना जारी गरिरहेका छन्। वर्षाकाे सम्भावना एक हप्ता पनि जान सक्ने भन्दै बाढी, पहिरो, डुबानको जोखिम पनि बढ्ने भएकाेले सबैलाइृ सचेतता अपनाउन विभागले अाग्रह गरेकाे छ ।

मौसविद्का अनुसार नेपालदेखि केही दक्षिण रहेको मनसुनको न्यून चापीय रेखा आज रातिदेखि उत्तरतर्फ सर्ने अर्थात् नेपालतर्फ नजिकिने भएकाले चार–पाँच दिन देशभर लगातार र अलि ठूलै वर्षा हुने भएको हो।