images

बढ्दै छ कोरोना, जोखिम कति ?

काठमाडौँ । असार २३ बुधबार कोरोना संक्रमणको दर ४ दशमलव १४ प्रतिशत पुगेको छ । बुधबार मात्रै ११३ नयाँ संक्रमित भेटिए । धुलिखेल हस्पिटलमा ओमिक्रोनको नयाँ उपप्रजाति भेटिएको भनिएको भएपनि आधिकारीक पुष्टि हुन सकेन । स्वास्थ्य मन्त्रालयले ९९.९ प्रतिशतले पहिलो मात्रा र ८७ प्रतिशतले कोरोना बिरुद्धको पूर्ण मात्रा खोप लगाएको बताएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ ।

असार महिनाको सुरु देखिनै कोरोना संक्रमितको संख्या बढ््दै गएको छ । जेठ महिनाको अन्तिम तिर दैनिक संक्रमितको संख्या दश भन्दा पनि कम थियो । छिमेकी देश भारतमा पनि पछिल्लो केहि हप्ता देखि कोरोना संक्रमणको दर बढ्न थालेको छ । देशभर सोमबार ४०, मंगलबार ९० र बुधबार मात्रै ११३ भने नयाँ संक्रमित भेटिए । यता धुलिखेल हस्पिटलमा ओमिक्रोनको नयाँ उपप्रजाति भेटिएको तथ्य बाहिर आएको थियो तर केहि फरक देखिएको भए पनि म्युटेशन नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोना संक्रमण केहि घटेपछि जनस्वास्थ्यको मापदण्ड पालना भएको पाइदैन । जसको कारण पनि संक्रमण फेरी बढ्न थालेको छ । प्राय सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएको कारण जटिल समस्या नदेखिएको भएपनि सचेत हुनुपर्ने चिकित्सकहरू बताउँछन ।

सरकारले कोरोना संक्रमण बाट बच्नको लागि सुरु देखिनै खोप अभियान तिव्रका साथ सञ्चालन गर्दै आएको छ । अहिले सम्म लक्षित जनसंख्याको ९९.९ प्रतिशत लाई एकमात्रा र ८७ प्रतिशतलाई कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाइएको छ । यस्तै ५ देखि १२ बर्ष उमेर समूहका सबै बालबालिकालाई छिट्टै खोप लगाइसकिने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मानिसको जीवन रक्षाको लागि कोरोना बिरुद्धको खोप प्रभावकारी भएको भए पनि विश्व बाट कोरोनाको महामारी अन्त्य नभएको विज्ञहरू बताउँछन् । खोप लगाएकाहरू लाई पनि जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।