images

फुट्को संघारमा जनता समाजवादी पार्टी

काठमाडौं, २८ असार । पार्टी एकता भएको एक बर्ष नपुग्दै जनता समाजवादी पार्टी फेरि फुट्को संघारमा पुगेको छ । जनता समाजवादी पार्टीमा कार्यकारी अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष बाबुराम भट्टराईबीच लामो समयदेखि सुसुप्त रुपमा चल्दै आएको जुहारी छताछुल्ल भएको छ । अहिले दुबै समूह छुट्टा छुट्टै भेला र बैठकको अभ्यासमा छन् ।

यसैक्रममा जसपाको भट्टराई समूहका केन्द्रीय सदस्यहरुको मंगलबार काठमाडौंमा छुट्टै भेला गरेका छन् । काठमाडौंको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भट्टराई समूहका केन्द्रीय सदस्यहरु भेला भएपछि अध्यक्ष उपेन्द्र यादव समूहमा खैलाबैला भएको छ ।

यसैबीच अध्यक्ष उपेन्द्र यादव समूहले पनि आफ्नो समूहको छुट्टै भेलाको आयोजना गरेको छ । यादव नजिकका एक नेताले दिएको जानकारी अनुसार उनीहरुले बिहीबार विरगन्जमा आफ्नो समूहको भेला बोलाएका छन् ।

भटट्राई पक्षधर नेताहरूले अध्यक्ष यादवले पार्टीको विधान बिपरित बैठक आयोजना गरिरहेको भन्दै आपत्ती जनाएका छन् ।
जसपा नेता महेन्द्र राय यादवले पार्टीमा छलफल नै नगरि उपेन्द्र यादव समूहले वीरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेको दावी गरे । उनले उक्त भेलामा आफूहरु जान असुरक्षा महशुस भएकाले आफूहरू जान नसकेको बताए । नेता यादवले हिमाल, पहाड, तराई मधेस सबैलाई जोडेर लैजानका लागि जसपा फुट्न नहुने तर्क गरे । साथै उनले पार्टी लोकतान्त्रिक विधि अनुसार चल्नुपर्ने बताए ।

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बावुराम भटट्राइले बैकल्पिक शक्ति निर्माण गर्न जसपाको स्थापना गरेको बताए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहले छुट्टै भेलाको आयोजना गरेको भन्दै भट्टइले पार्टीलाई आन्तरिक लोकतन्त्र र विधि अनुसार चलाउनुपर्ने धारणा राखे । यादवले पार्टी विधान विपरित ढंगले वीरगन्जमा बोलाएको बैठक तत्काल स्थगित गर्न र पार्टीमा सबै एक भइ अगाडी बढ्न समेत आवह्न गरे ।

२०७६ बैशाखमा उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री बावुराम भटट्राई नेतृत्वको नयाँ शक्ति पार्टी मिलेर जनता समाजवादी पार्टीको गठन भएको थियो । त्यसको ठिक एक बर्ष नपुग्दै २०७७ बैशाखमा राष्ट्रिय जनता पार्टी को एकता भएको थियो । गत वर्ष भदौमा महन्थ ठाकुर, राजेन्द्र महत्तो लगायतले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए ।