images

ठमेल पर्यटन विकास परिषदको नेतृत्वमा भविश्वर शर्मा

काठमाडौं १ साउन । ठमेल पर्यटन विकास परिषदको नवौं अधिवेशन बाट अध्यक्ष पदमा भविश्वर शर्मा निर्वाचित भएका छन् । उनले सात सय ७२ मत ल्याउँदा उनका प्रतिद्धन्दी धुब्र अधिकारीले पाँच सय ६८ मत ल्याए ।

शनिबार भएको चुनावमा १५ सय ९८ मतदाता रहेका थिए । जसमध्य १३ सय ९३ मत खसेको थियो । प्रतिद्धन्दी धुब्र अधिकारीलाई २०४ मतको अन्तर बनाउँदै शर्माले जित निकालेका हुन । भविश्वर शर्मा र धुब्र अधिकारीको प्यानल चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न पदमा दुवै प्यानलका पदाधिकारीहरू निर्वाचित भएका छन् । उपाध्यक्षमा सहदेव धमला, गीता गुरुङ र प्रश्रय राज भण्डारी विजयी भए ।

दुई बर्षे कार्यकाल रहने ठमेल पर्यटन विकास परिषदमा एक अध्यक्ष तीन उपाध्यक्ष महासचिव, सचिव, कोषध्यक्षमा एक एक र सदस्य पदमा आठ जना निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष भविश्वर शर्माले कोरोना पछि उठ्न लागेको पर्यटन क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने बताएका छन् । उनले ठमेलको पर्यटन व्यवसायलाई मर्यादित बनाउँदै फोहोर मैला ब्यवस्थापन, बाटो, बत्ति, सीसीटिभि क्यामेरा जडान लगाएत विभिन्न काम गर्ने बताए । साथै ठमेललाई आन्तरिक र बाह्य पर्यटकहरूको गन्तव्यको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

नेपाली पर्यटन व्यवसायीहरूको मुख्य थलो हो ठमेल । ठमेललाई रातमा पनि सञ्चालन गर्ने बहस पटक पटक हँुदै आएको छ । नयाँ नेतृत्व आए संगै ठमेलको विकासमा थप सहयोग पुग्ने कतिपय पर्यटन व्यवसायीको बुझाई छ । कोरोना संक्रमणले थला परेको नेपाली पर्यटन क्षेत्र र ठमेलको विकासमा एक चित्त भएर कामगर्ने नवनिर्वाचित पदाधिकारीहरूले बताएका छन् ।