images

‘भूत’ भगाएर नेवार समुदायले मनाए गठेमंगल

काठमाडौं, ११ साउन । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आगो बालेर ‘भूत’ भगाएका छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याएर उसको अन्त्येष्टि गर्ने परम्परा छ ।

किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो ।

त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए। एकदिन घण्टाकर्ण मर्‍यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको विश्वास छ ।

त्यसैले श्रावण कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राखिन्छ।