images

सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस, १९५ देशमा खोजी सुरु

काठमाडौं, ११ असोज । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेबिरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

बलात्कार आरोपमा सम्पर्क विहिन अवस्थामा रहेका सन्दीपविरुद्ध नेपाल पुलिसको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

नेपाल प्रहरीले इन्टरपोलले सन्दीपलाई फरार सूचीमा राख्दै शुक्रबार डिफ्युजन नोटिस जारी गरेको बताएको छ । इन्टरपोलको नोटिससँगै १ सय ९५ देशका प्रहरीले सन्दीपलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । नोटिससँगै सन्दीप इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचिमा परेका छन् ।

नाबालिका किशोरीलाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध भदौ २२ गते प्रहरीमा उजुरी परेको थियो । नेपाल प्रहरीको अनुरोधमा अदालतले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमती दिएको थियो । प्रहरीले फरार सूचिमा राख्दै सन्दीपलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

लगत्तै सन्दीपले सीपीएल छाडेर नेपाल फर्किने बताएका थिए । उनले आफु निर्देश रहेको दाबी सहित नेपाल फर्किएर कानुनी लडाँई लड्ने बताएका थिए । नेपाल फर्किएर कानुनी लडाँई लड्ने घोषणा गरेका सन्दीप पछिल्लो समय बेपत्ता छन् ।