images

निर्वाचन आचारसंहिता–२०७९ लागू, भोज भतेर गर्न नपाइने

काठमाडौं, १२ असोज । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको हो ।

आचारसंहितामा राजनीतिक दल, नेता–कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ ।

राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ । राजनीतिक दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ ।

एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख छ ।

प्रचार प्रसारको समयमा १२ घन्टाका लागि तोकिएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने आचारसंहितामा भनिएको छ । निर्वाचनको प्रचार प्रसार वा जुलुजमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।

त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ । अनलाइन वेव पेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन । तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ ।