images

ब्याजदर बढाएर उद्योगी व्यवसायीलाई ठगी गरेको महासंघको आरोप

काठमाडौं, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको बताउनुभएको छ ।

उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रियामा उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेको आरोप लगाउनु भयो । उपाध्यक्ष श्रेष्ठले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जोडेर ऋणिमाथि थप बोझ थपेको उल्लेख गर्नुभयो । श्रेष्ठले बैंकहरुले आफैं ब्याज बढी दिने र आधार दर बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरुको मर्जरको औचित्यबारे प्रश्न उठाउनु भयो । उहाँले खुला बजार अर्थतन्त्र लागू हुँदै गर्दा धमाधम बैंकको लाइसेन्स बाँडिएको र अहिले बैंकको संख्या घटाउँदै किन मर्ज गर्न लागेको ? भन्दै प्रश्न गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले बैंकको सख्या कम गर्ने बैंकहरुलाई मर्ज गराएर राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई संकुचित बनाउन खोजेको अरोप लगाउनु भयो ।।।