images

बारामा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

मृतकमध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एवम प्रवक्ता बलराम श्रेष्ठले दिएको जानकारीअनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, २ जना चुरेहिल अस्पताल, एक जनाको मकवानपुर सहकारी अस्पताल तथा एक जनाको चितवनमा ज्यान गएको हो ।

घाइते २० जनामध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको छ । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको वागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुनेमा बारा कलैया १० का ३५ वर्षीय बाज्रीना खातुन पर्सा वीरगञ्जका ६५ वर्षीय सोमप्रसाद चौरासीया, ३५ वर्षीया मुन्नीदेवी चौरासीया, मकवानपुर हेटौँडा ७ की ५५ वर्षीया शभलक्ष्मी श्रेष्ठ र २० वर्षीया स्वस्तिका श्रेष्ठ, कलैयाकै २२ वर्षीय इन्ताक अन्सारी, बारा अमलेखगञ्जका २८ वर्षीय सुरेश विक, ४५ वर्षयि लालबहादुर बोगटी तथा गोर्खाकी अम्बिका कंडेल रहेका छन् ।