images

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, २ वेपत्ता

जुम्ला, २२ असोज । शनिवार बिहानै खसेको पहिरोमा पुरिएर जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा बाराकोटीबाडा भन्ने ठाउँमा गएको पहिरोमा परेर थप २ जना बेपत्ता भएका छन् ।

कनका सुन्दरी गाउँपालिकाको बाराकोटीबाडा भन्ने ठाउँमा आज बिहान करिव ४ बजेतिर पहिरो गएको हो । पहिरोमा पुरिएर स्थानीय गणेश बहादुर शाही, उनका छोरा रमेश शाही, रमेशकी श्रीमती पानसरा शाही तथा उनीहरुका छोराहरु अनमोल शाही र मिलन शाहीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरिक्षक धर्मराज जोशीले प्रहरी निरीक्षक जोशीका अनुसार दुई जना अझै वेपत्ता भएका छन् । वेपत्ता हुनेमा शाही परिवारका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही रहेका छन् । प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी गरिरहेका छन ।

प्रहरीले घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरेको जनाएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।