images

ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को ट्रेलरमा देख्न सकिन्छ।

बिहीवार ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई देखाइएको छ।

२ मिनेट ४१ सेकेण्ड लम्बाईको ट्रेलरमा अंग्रेजसँगको लडाईंको क्रममा देखाईएका दृश्य वास्तविक लाग्छन्। ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ले आकर्षित गर्नसक्ने देखिन्छ। तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका छन्।

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए।

फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गरे। उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।

‘९ वर्षको अन्तरालमा बल्ल चलचित्र रिलिजको संघारमा आएको छ। सोलो रिलिजको कुरा आयो, मलाई नै अचम्म लागिरहेको छ। चलचित्र जुन जुधिरहेको छ, उहाँहरुले नालापानीलाई सामान्य ठान्नुभएको छ कि, यसको वेट नबुझ्नुभएको हो कि,’ उनले भने, ‘यो उहाँहरुको पनि चलचित्र हो, किन जुधाइ रहनुभएको छ मैले भन्दा पनि सरकार, संघका अध्यक्षहरुले राख्नुपर्छ।’

पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ।