images

यी हुन पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने चर्चित नेताहरु

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवारी दर्ता गराएको छ । यस क्रममा ठूला पार्टीका ठूला नेताहरूले टिकट पाउन बञ्चित भएका छन् ।

गत मंसिरमा भएको एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलले टिकट पाएनन् । उनीसँगै नेता घनश्याम भुसाल पनि टिकटबाट बञ्चित भए ।

एमालेमा मात्रै नभई सत्तारुढ दल नेपाली कांग्रेसमा नेता मिनेन्द्र रिजालले टिकट पाउन सकेनन् । ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट विजयी हुनेमा उनी एक थिए । तर, यसपटक प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका कारण उनले टिकट पाउन बञ्चित भए । यस्तै, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले टिकट पाउन सकेनन् ।

पार्टी नेतृत्वले टिकट नदिएपछि कतिपय नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । योसँगै पहिलेका सहकर्मीहरू एकआपसमा प्रतिस्पर्धी बनेका छन् ।

पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेकपा एमालेका उपमहासचिव भइसकेका नेता घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनको सहयोगमा एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी सो क्षेत्रबाट विजयी हुँदै आएका छन् ।

यसैगरी, एमालेका नेता प्रभु साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिए । एमालेले उनलाई टिकट दिए पनि आफूसँगै माओवादीबाट आएका नेताहरूलाई वेवस्था गरेको भन्दै उनको समूहले एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टीको भागमा परेका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको हो ।

एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र १ बाट स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी छन् । एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शान्ता चौधरीले उम्मेदवारी दर्ता गराएसँगै उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

पार्टीले टिकट नदिएपछि गंगाले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उम्मेदवारी दिएसँगै उनले एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएकी थिइन् । दाङ १ बाट उम्मेदवार बन्न सिफारिस भए पनि दाङ २ की स्थायी बासिन्दा शान्ता एमालेबाट उम्मेदवार बनेपछि गंगाले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

सत्ता गठबन्धन दल कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, नेता गोविन्दराज जोशीले तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउका छन् । कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

कांग्रेसकै नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, लेखक युग पाठकले झापा ५ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रसमेत हो ।